Live Streaming

चितवनमा रगतको अभाव

चितवन, १७ असोज । नाकाबन्दीपछि इन्धनको अभावसँगै तालिकामा रहेका रक्तदान कार्यक्रमहरु हुन छाडेपछि जिल्लामा रगतको अभाव भएको छ । रक्तसञ्चार केन्द्र भरतपुरबाट सदरमुकामका अस्पतालहरुमा दैनिक १५० युनिटको हाराहारीमा रगतको माग हुने गर्छ । सबैभन्दा बढी कलेज अफ मेडिकल साइन्सेस र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगतको माग हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो । 

ती अस्पतालका अतिरिक्त जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पतालसहित नर्सिङ होमहरुमा पनि रगतको माग हुने गरेको उहाँले बताउनुभयो । जिल्ला र बाहिरबाट आउने दुर्घटनाका घाइते र बिरामीको ठूला शल्यक्रिया जिल्लाका अस्पतालमा हुने भएकाले रगतको माग बर्सेनि बढ्दै गएको छ । 

इन्धनको अभावमा मानिसको आवतजावतमा कठिनाइ भएपछि रक्तदान कार्यक्रम आयोजना गर्नेहरुले नियमित कार्यक्रम नगर्दा रगतको अभाव भएको उहाँले बताउनुभयो । बिरामीका आफन्तबाट रगत साटेर अत्यावश्यक बिरामीलाई मात्र रगत दिइएको छ ।

आफन्तहरु समेत आउन नसकेपछि कतिपयले शल्यक्रियाको समय पछाडि सारेको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । पछिल्लो समय स्थानीय प्रशासनले पालो मिलाएर इन्धन दिन थालेपछि नियमित रक्तदान कार्यक्रम सुरु हुने क्रम भएकाले केही दिनमा पूर्ववत् अवस्थामा रगतको माग पूरा गर्न सकिने उहाँले बताउनुभयो । केन्द्रमा वार्षिक रुपमा ३५ हजार युनिट रगत माग हुँदै आएको छ । रासस ।