Live Streaming

​सहमतीय सरकार निर्माणको कसरत सुरु

काठमाडौं,१७ असोज । नयाँ सरकार गठनका लागि प्रमुख दलहरुले आज पनि आन्तरिक र सामूहीक छलफल जारी राख्दैछन् । राष्ट्रपति रामवरण यादवले संवैधानिक प्रावधान अनुरुप सात दिनभित्र सहमतीय सरकार गठन गर्न २ दिनअघि आह्वान गर्नुभएपछि प्रमुख दलहरु सक्रिय भएका हुन् । भावी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे कंग्रेस र एमालेबिच विवाद देखिएको छ । वर्तमान सरकार गठनका बेला कंग्रेस र एमालेबिच तथा पछिल्लो १६ बुंदे सहमति गर्दा ४ दलबीच आफ्नो नेतृत्वमा आगामी सरकार बनाउने भद्र सहमति भएको एमालेले दावी गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी ओलीले सोही सहमति अनुरुप अनुसार आफ्नोे नेतृत्वमा नया सरकार बनाउन पहलकदमी अघि बढाइरहंदा कंग्रेसले एमालेको नेतृत्व नस्विकार्ने स्पष्ट संकेत गरिसकेको छ । प्रधानमन्त्री एवं कंग्रेस सभापति सुशील कोइरालाले पुन आफ्नैे नेतृत्वमा बहुमतिय सरकार गठन गर्ने कसरत थाल्दै एकीकृत माओवादीसंग सहयोगको आग्रह गरिसक्नुभएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग हिजो सांझ भएको भेटमा कोइरालाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार बनाउन सहयोगका लागि आग्रह गर्नुभएको हो ।

यद्यपी, फेरी सरकारको नेतृत्व गर्ने कोइरालाको चाहनामा कंग्रेसभित्रैबाट पनि ठूलो समर्थन छैन । कंग्रेसले सरकारको नेतृत्व पाउने अवस्था आए बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल त्यसका लागि अघि सर्ने तयारीमा छन् । देउवा निकट नेता गोपालमान श्रेष्ठले नया संविधान बन्ने वित्तिकै पदत्याग गर्ने अभिव्यक्ति विगतमा पटक पटक दिएका प्रधानमन्त्री कोइरालाले फेरी सरकारको नेतृत्व दावी गर्नु नैतिक रुपमा उचित नहुने बताउनुभयो । कोइरालालाई पार्टीभित्रकै र बाहिरका तत्वहरुले उचालिरहेको आरोप लगाउँंंदै श्रेष्ठले त्यो स्वयं कोइरालाकै लागि हीतकर नहुने जिकिर गर्नुभयो । पार्टीको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा यसबारे बिस्तृत छलफल हुने उहांँंले बताउनुभयो ।