नाकाबन्दी खुल्यो
काठमाडौं,१७ असोज । भारतले नेपालमा १० दिनयता लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएपछि सिमानाकाहरुमा रोकिएका मालबाहक सवारी साधनहरु आजबाट नेपाल भित्रने भएका छन् । देशका विभिन्न ५ नाकाबाट आज पेट्रोलियम पदार्थ तथा अन्य मालसामान बोकेका गाडीहरु भित्रने भएका हुन् । पूर्वी नाका काकरभिट्टा पारी रोकिएका सवारी साधन आज दिउँंसोबाट नेपाल आउने सहकर्र्मी उमाकान्त खनालले बताएका छन् ।
त्यस्तै रानी भन्सार भन्सार बिराटनगरबाट पनि १ हजार मलबाहक ट्रक नेपाल भित्राउने तयारी भएको छ । ति मध्ये १ सय २० वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङकर रहेका छन् । त्यस्तै रानी नाकाबाट ३५ बटा पेट्रोल बोकेका ट्याङकर ल्याउने तयारी भइरहेको सहकर्मी कुमार लुईटेलले जनाएका छन् । उता नेपालगञ्ज नाकाबाट पनि सिमा क्षेत्रमा रोकिएका १ सय भन्दा बढी मालबाहक सवारी साधन आज नेपाल भित्रने भएका छन् ।
ती मध्ये ३० बटा पेट्रोल बोकेका ट्याङकर रहेको सहकर्मी सुरेन्द्र काफ्लले जनाएका छन् । सबैभन्दा ठुलो भन्सार बीरगञ्जबाट भने गएरातीबाट नै मालबाहक सवारी साधन नेपाल भित्रिएका छन् । नेपालका लागि ढुवानी तथा पारवहनमा प्रमुख मानिएका वीरगञ्ज सहित ६ वटै मुख्य र अन्य सहायक व्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन भारत सरकारले हिजो सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।