संसद अधिवेशन आजदेखि सुरु
काठमाडौं,१५ असोज । संविधानसभाबाट रुपान्तरित भइ बनेको व्यवस्थापिका संसदको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद अधिवेशन प्रारम्भ भएको सात दिन भित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ । सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरुले संविधान कार्यान्वयनका लागि आज नै राजीनामा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिएका छन् । प्रधानमन्त्री कोइरालाले संविधान बनेलगत्तै आफूले राजीनामा दिने प्रतिवद्धता यसअघि पटक पटक सार्वजनिक रुपमा ब्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीको दल नेपाली कंग्रेसका केही नेताले प्रतिवद्धता अनुरुप कोइरालाले आज संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने बताए पनि कोइराला निकट नेताहरुले उहांँंले आज राजीनामा नगर्ने संकेत गरेका छन् । संविधानको संक्रमणकालीन व्यवस्थामा नै अधिवेशन शुरु भएको एक साताभित्र राजनीतिक सहमतिको सरकार गठन गर्ने र त्यसो हुन नसकेमा संसदको बहुमतले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ ।
सबै दलको समर्थन विना सहमतिको सरकार गठन नहुने भएकाले संसदले असोज २२ देखि बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ गर्ने सम्भावना छ । यद्यपी पहिलो बैठक आधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र वाचनको औपचारिकतामा सिमिति हुने संसद सचिवालयले जनाएको छ ।अन्तरिम नियमावली मार्फत प्रधानमन्त्री चयनको प्रक्रियाअघि बढाउन सकिने निष्कर्षसहित संसद सचिवालयले प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकोे पूर्ण नियमावली मस्यौदाको गृहकार्य सुरु गरेको छ ।