Live Streaming

​अघोषित नाकाबन्दी खुलाउन प्रयास भइरहेको छ : मन्त्री रिजाल

 इन्धन आपूर्तिका लागि तत्काल अन्य विकल्पमा सरकार नजाने 

काठमाडौं,१५ असोज । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजालले भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कुटनीतिक र राजीनितिक तवरमा प्रयासहरु भइरहेको भन्दै इन्धन आपूर्तिका लागि तत्काल अन्य विकल्पमा सरकार नजाने बताउनुभएको छ । यद्यपी, केही दिन अरु पर्खदा पनि नाकाको अवरोध खुला नभए चीनलगायत अन्य मुलुकबाट इन्धन ल्याएर संकट टार्ने सरकारको योजना रहेको उहांँंले बताउनुभयो ।

रेडियो अन्नपूर्ण नेपालको विहानी कार्यक्र अन्नपूर्ण फ्रण्टलाइनमा कुरा गर्दै मन्त्री रिजालले प्रधानमन्त्री सुशील कोइरालासहित सरकारका अन्य मन्त्रीहरुले भारतीय पक्षसंग विभिन्न चरणमा गरेको छलफल सकारात्मक देखिएकाले सिमा नाकाको अवरोध केहीदिनमै हट्ने अपेक्षा गरिएको उहांले उल्लेख गर्नुभयो । पारवहन सन्धी लगायतको प्रावधान बिपरित भारतले नेपालमा सामान आपूर्तिमा अवरोध गरेपनि दुइ मुलुकबीचको सम्वन्ध नबिगार्न सरकारले अन्तर्राष्ट्रिय अदालत, राष्ट्रसंघ जस्ता निकायमा उजुरी नगर्ने मन्त्री रिजालले बताउनुभयो । 


यसैबिच, सरकारले निजी सवारी साधनलाई हिजोदेखि इन्धन वितरण नगरेपछि काठमाडौ उपत्यकाका सडकमा निकै कम संख्यामा सवारी साधन सञ्चालनमा आएका छन् । भारतबाट इन्धन नआउनुका साथै भएको संचिति पनि ह्वात्तै घटेपछि सरकारले हिजोदेखि निजि सवारी साधनलाई डिजल पेट्रोल वितरण रोकेको हो । सार्वजनिक सवारीका साधनलाई भने राजधानीका विभिन्न पम्पबाट जोर बिजोर नम्बरका आधारमा इन्धन वितरण गरिएको छ । इन्धन अभावले उपत्यकाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।