विराटनगरमा मानव साङ्लोसहित मोर्चाको प्रदर्शन
कुमार लुइँटेल
विराटनगर,१४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विराटनगरमा बृहत मानव साङ्कलो बाँधेर प्रदर्शन गरेका छन् ।बुधबार अपरान्ह सयौंको संख्यामा भेला भएका मोर्चा सम्बद्ध कार्यकर्ता तथा सर्वसाधरणले एक आपसमा हात बाँधेर मानव साङ्कलो निर्माण गरेका हुन् ।विराटनगरको अस्पताल चौक दक्षिणबाट बाँधिएका मानव साङ्कलो गुदरी र महावीर चौक अघिसम्म पुगेको थियो ।
मोर्चाको पूर्व निर्धारित कार्यक्रमअनुसार नै मानव साङ्कलो निर्माण सफल भएको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।पुरानो सदरमुकाम रंगेलीमा पनि मोर्चाका कार्यकर्ताले मानव साङ्कलो बनाएका थिए ।
हुलाकी राजमार्ग अन्तर्गत नै पर्ने विराटनगर–रंगेली सडकमा ठूलो संख्यामा कार्यकर्ता भेला भएका थिए ।
विराटनगरको महावीर चौकमा आमसभा पनि आयोजना गरिएको थियो । सभामा बोल्ने वक्ताले मधेशका अधिकारलाई नजर अन्दाज नगरी मागको सुनुवाई गर्न आग्रह गरेका थिए ।झापाको गौरीगञ्जदेखि विराटनगरसम्म हजारौं सहभागी भएको तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले जानकारी दिए ।