Live Streaming

राष्ट्रियता र स्वाधिनताको मामिलामा खुट्टा कमाउँदिन: प्रधानमन्त्री

काठमाडौं,१४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियता र स्वाधिनताको मामिलामा खुट्टा नकमाइ भारतको नाकाबन्दीको सामना गर्ने बताउनुभएको छ । नाकाबन्दी तथा मधेशकेन्द्रित दलहरुको आन्दोलनका कारण उत्पन्न समस्याबारे ध्यानाकर्षण गराउन पुगेका विद्यार्थी संगठनका प्रतिनिधीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सरकार कसैसामु नझुक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कोइरालाले आक्रोस भन्दा पनि संयमका साथ संकटपुर्ण अवस्थाको सामना गर्नुपर्ने भएकोले त्यसतर्फ सचेत रहन विद्यार्थी संगठनहरुलाई आग्रह गर्नुभएको नेबिसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार, राष्ट्रियताका सवालमा सबै नेपालीलाई एकजुट हुन अपिल गर्दै प्रधानमन्त्री कोइरालाले भारतको झन्डा जलाउनेजस्ता २ देशको सम्वन्धमा आंच आउने गतिविधि नगर्न विद्यार्थी संगठनलाई आग्रह समेत गर्नुभयो ।

विभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री कोइरालालाई बालुवाटारमा भेटेर भारतको नाकाबन्दी कुटनीतिक पहलमार्फत खुलाउन तथा मधेशकेन्द्रित दलहरुसँग वार्ता गरी अहिलेको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए । भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसका विरुद्ध विभिन्न नौ विद्यार्थी संघ संगठनले संयुक्त आन्दोलन गर्दै आइरहेका छन् ।