विश्व मुटु दिवस आज
काठमाडौं,१२ असोज । विश्व मुटुदिवस, आज नेपालमा पनि चेतनामुलक विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्षको विश्व मुटुदिवसको नारा ‘स्वस्थ मुटुको साधनः सर्वत्र, सबैका लागि’ भन्ने रहेको छ । सूर्तिजन्य पदार्थको सेवन, मधुमेह, अस्वस्थकर खानपिन, मद्यपान, शारीरिक निस्क्रियता वा विलासी जीवनशैलीका कारण विश्वभर मुटुका विरामी बढ्दै गएका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित रहेको तथ्यांक छ ।
हाल विश्वमा प्रत्येक बर्ष झण्डै १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले मुटुसम्वन्धि रोगका कारण ज्यान गुमाइरहेका छन् । विश्वमा करिव ४० प्रतिशत मानिसको मृत्यु मुटुसम्वन्धि रोगका कारण हुने गरेको बताइन्छ । मुटुरोगबाट बच्न चिल्लोपिरो रहीत स्वस्थकर खाना खान, नियमित व्यायाम गर्न, धुमपान र मद्यपान नगर्न, नियमित रुपमा रक्तचाप जाँच गर्न र तनावमुक्त जीवनशैली अपनाउन चिकित्सकहरु सुझाव दिन्छन् ।