Live Streaming

नाकाबन्दी छिटै अन्त्य हुन्छ : ओली

बालकुमार नेपाल

काठमाडौं,१२ असोज ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट भइरहेको अघोषित नाकाबन्दी छिटै अन्त्य हुने र आपूर्ति व्यवस्था सहज हुने बताएका छन् ।

 मंगलबारदेखि राजधानीमा सुरु भएको एमाले राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, 'यो अवस्थालाई निरन्तरता दिनु हुँदैन । भारत हाम्रो असल छिमेकी हो । उसले यसलाई जारी राख्छ जस्तो मलाई लाग्दैन । यो अवस्था छिटै अन्त्य हुन्छ र हुनुपर्छ ।

उनले भारतीय पक्षसँग कुराकानी भइरहेको बताउँदै भने, 'केही असझदारी भए सम्वादबाटै टुंगिन्छ । उनले नेपालले दुनियाँकै सबैभन्दा लोकतान्त्रिक विधि अपनाएर समावेशी संविधान बनाएको दाबी गर्दै भने, हामीले दुनियाँलाई देखाइदिएका छौं । ९५ प्रतिशत बहमतबाट संविधान बनाएको उदाहरण दुनियाँमा कहीं छैन। यसमा कोही पनि असन्तुष्ट र बेखुसी हुनुपर्ने कुनै कारण छैन । '

 राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री सबै पदका लागि नेपाली नै सक्षम रहेको र  विदेशीलाई अंगिकृत नागरिकता दिएर ती पद दिन नसकिने बताए। उनले भने, 'किन विदेशीलाई अंगिकृत दिएर राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री  बनाउनुपर्‍यो, त्यसका लागि नेपाली सक्षम छन् ।'

उनले उपराष्ट्रपति जस्तो सम्मानित पदमा बसेको व्यक्तिले वक्तव्य निकालेर आन्दोलनलाई समर्थन गर्नु र संविधानको विरोध गर्नु शोभनीय नहुने बताए । उनले भने, सम्मानित पदमा रहेको व्यक्तिले यसरी वक्तव्य निकाल्नु गलत हो ।