Live Streaming

बाबुरामले भने, म आन्दोलनकारी होइन, सहजकर्ता हुँ

काठमाडौं,१२ असोज । एमाओवादी पार्टी छोडेपछि मंगलबार जनकपुर पुगेका बाबुराम भट्टराईले आफू आन्दोलनकारी नभएर सहजकर्ताका रुपमा मधेस आएको बताएका छन् । जनकपुर विमानस्थलमा उत्रेपछि संचारकर्मीसँग उनले भने, 'म आन्दोलनकारी होइन। मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ ।' उनले पहाडी शासकले मधेसलाई सधै धोखा दिएकोले आफूमाथि पनि अविश्वास भएको बताउँदै भने, पार्टी र संसद्बाट समेत राजनीमा दिएर आएपछि पनि ममाथि किन अविश्वास गर्ने ? पहाडी भएर त्यस्तो शंका होला । तर जात भन्दा पनि काम हेर्नुपर्‍यो । 

डेढ महिनादेखि भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै भने, वार्तामा बसेर समाधान गर्नुपर्छ । मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको र तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गरेको बताउँदै भने, तर कसैले मेरो कुरा सुनेनन्। त्यसैले संविधान जारी गरेर म यता आएको हुँ । संविधान जारी नगरिकन यता आएको भए संविधान नआएको सबै दोष ममाथि लाग्थ्यो ।

उनले संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलाइे भने पनि वेवास्ता गरेको बताउँदै भने, मैले प्रचण्डजीलाई पटकपटक मधेसलाई मिलाएर मात्र अघि बढौं भनेको हो तर उहाँले मान्नु भएन । मतदानमा जाने एकातर्फी निर्णय गर्नुभयो । त्यसैले अहिले असहज परिस्थिति आयो ।