Live Streaming

प्रधानमन्त्रीको निर्देशन मानेन गृहले

अन्नपूर्ण

काठमाडौं,१२ असोज । सेवा निवृत्त भएका चारजना प्रहरी नायबमहानिरीक्षक (डीआईजी) लाई तत्काल बढुवा गर्नुपर्ने सर्वोच्च अदालतको आदेश पालना गर्नु भन्दै प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न गृह मन्त्रालयले आनाकानी गरेको छ। 

 सर्वोच्चको आदेश कार्यान्वयन नगरेपछि प्रधानमन्त्री सुशील कोइरालाले तत्कालीन डीआईजी यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराज सिंह शाहीलाई बढुवा गर्न गृहलाई निर्देशन दिएका थिए।सर्वोच्चले दिएको आदेश कार्यान्वयन नगरेपछि फैसला कार्यान्वयन निर्देशनालय र प्रधानमन्त्री कार्यालयले छुट्टाछुट्टै दिएको निर्देशनसमेत पालना गर्न गृहले अटेर गरेको छ।

 पछिल्लो समयमा साउन १९ गते प्रधानमन्त्रीको निजी सचिवालयले गृहसचिव सूर्य सिलवाललाई पत्र लेखी सम्मानित अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने कार्यकारिणीको कर्तव्यलाई आत्मसात गर्दै विधिको शासन प्रत्याभूत गराउन अदालतको फैसला कार्यान्वयन गर्न र गराउन निर्देशन दिएको थियो।

 आफूहरू बढुवामा नपरेपछि चारजना डीआईजी न्याय माग्दै अदालत गएका थिए। सर्वोच्च अदालतले ती डीआईजीलाई २०७१ साउन २९ गतेकै मितिले लागू हुने गरी पद रिक्त भए सोही पदमा र रिक्त नभए विशेष पद सिर्जना गरेर एआईजीमा बढुवा गर्न सरकारलाई आदेश दिएको थियो।

 अदालतले दिएको आदेश सरकारले कार्यान्वयन नगरेपछि फैसला कार्यान्वयन निर्देशनालयले समेत गत असार २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरी अदालतको आदेश कार्यान्वयन गर्न दिर्नेशन दिएको थियो।