Live Streaming

​अन्तर्राष्ट्रिय उडानले हवाई इन्धन नपाउने

काठमाडौं,१२ असोज । अन्तराष्ट्रिय उडानले आज मध्याह्नदेखि हवाई इन्धन नपाउने भएका छन् । १४ वटा मुलुकका २६ विमान कम्पनीले नेपाल उडान भर्ने गरेका छन् । यी वायु सेवा कम्पनीलाई आयल निगमको एयरपोर्ट डिपोले आज मध्याह्नदेखि लागू हुने गरी इन्धन नेपालबाहिरबाटै भरेर आउन भनेको छ । काठमाडौंमा तेल आपूर्ति सहज नभएसम्म अन्तराष्ट्रिय उडानहरूले भारतको लखनउ, दिल्ली, बंगलादेशबाट तेल भर्ने छन् ।

यसलाई उड्डयनको भाषामा टेक्निकल ल्यान्डिङ भनिन्छ । अन्तराष्ट्रिय विमानहरूले टेक्निकल ल्यान्डिङ गर्नुपरेको यो दोस्रो घटना हो । २०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि अन्तराष्ट्रिय उडानहरूले नेपालमा इन्धन अभाव झेल्नुपरेको थियो । यसैबीच आन्तरिक उडानका लागि भने एक महिनासम्मलाई इन्धनको व्यवस्था मिलाउने निगमले बताएको छ । यसैबीच नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न छिमेकी चीनले भारतलाई दबाब दिएको छ । चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो । चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवै राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन् । 

यसैगरी भारतको नाकाबन्दीपछिको अवस्थाबारे छलफल गर्न भारत जानुभएका बाणिज्य मन्त्री सुनिल थापाले आज पनि विभिन्न पक्षसँग छलफल र भेटवार्ता गर्दैहुनुहुन्छ ।  नाकाबन्दी हटाउने कुटनीतिक प्रयासस्वरुप सरकारी टोलीको नेतृत्व गर्दै हिजो नयाँ दिल्ली जानुभएका मन्त्री थापाले हिजो त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजसँग छलफल गर्नुभएको थियो । आज पनि उहाँले वाणिज्य, अर्थ र पेट्रोलियम मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम  छ ।