Live Streaming

अन्तर्राष्ट्रिय उडानमा इन्धन अभाव

अन्‍नपूर्ण

काठमाडौं,११ असोज । नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने भएको छ। भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानका जहाजलाई मंगलबारदेखि इन्धन दिन नसक्ने जानकारी दिएको छ। आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विदेशी वायुसेवालाई उपयुक्त विकल्प खोज्न जानकारी गराइसकेको छ।

 त्रिभुवन विमानस्थस्थित अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक समितिका अध्यक्ष भरत श्रेष्ठले आयल निगमले मंगलबारसम्म इन्धन दिने र त्यसपछिको व्यवस्था आफैं गर्नुपर्ने जानकारी दिएको बताए। इन्धन अभावमा नेपालमा उडान गरिरहेका २७ वटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये अघिकांशको सेवा प्रभावित हुनेछ। 

 नेपालमा उडान गरिरहेका वायुसेवा कम्पनीमध्ये कतार र इत्तिहादले ए ३३० नामक वा त्यसभन्दा बढी क्षमताको वाइबडी जहाजमार्फत दुईतर्फी उडानका लागि इन्धन राखेर उडान गर्न सक्छन्। भारत र बंगलदेशबाट आउने वायुसेवाले पनि दुईतर्फी इन्धन बोकेर उडान गर्न सक्छन्। 

 लामो दूरीबाट आउने कोरिया र टर्किसको उडानमा समस्या हुनेछ। नेपालमा हवाइ इन्धन महँगो हुने भएकाले कमैले मात्र इन्धन भर्ने गरेका छन् । कोरिया र टर्किस एयरले नेपालबाट फर्कंदा कम्तीमा पनि २० देखि २५ टन इन्धन भर्नुपर्छ। 

इन्धन अभावमा नेपालमा उडान गरिरहेका २७ वटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये अघिकांशको सेवा प्रभावित हुनेछ।

अन्यथा भारतको लखनउ, वनारस, पाकिस्तानको कराँची वा बंगलादेशको ढाकामा ट्रान्जिट भएर इन्धन भर्नुपर्छ। यी वायुसेवाले ट्रान्जिटको व्यवस्था मिलाउन नसके सम्बन्धित वायुसेवाको उडान कटौती वा बन्दै हुन सक्ने जानकारी श्रेष्ठले दिए।

 उनका अनुसार छिमेकी गन्तव्यबाट आउने तथा एयर बस ३२० वा बोईङ ७३७ सम्मका न्यारोवडी जहाज ल्याउनेले पनि नेपालमा कम्तीमा नौ देखि १३ टन इन्धन नभरे फिर्ता जान सक्दैनन्। नेपाल आउने सबै अन्तर्राष्ट्रिय वायुसेवाले नजिकैको ढाका, लखनउ र कराँचीसहितका गन्तव्यमा पुगेर इन्धन भरेर मात्रै जाने वैकल्पिक व्यवस्था अवम्बन गर्न नसके हवाई पहुँचबाटै खुम्चनुपर्ने समस्या देखिएको श्रेष्ठको भनाइ छ। 

 ट्रान्जिट उडान गर्न पनि सम्बन्धित देशकै अनुमति ल्याउनुपर्छ। नेपालमा उडान गर्ने वायसेवालाई भारतले ट्रान्जिट नदिन पनि सक्छ, यसो भने भने झन ठूलो समस्या हुनसक्ने श्रेष्ठले बुझाइ छ। 

 इन्धनको विकल्प खोज्ने वा ट्रान्जिट उडान गर्ने बारेमा भने कुनै पनि वायुसेवा कम्पनीबाट जानकारी नआएको उनको भनाइ छ। मंगलबारसम्म के गर्ने भन्ने विषयमा आधिकारिक टुंगो लागिसक्ने उनको भनाइ छ।

 नेपाल आयल निगमले भने आन्तरिक वायुसेवा लागि इन्धन उपलब्ध गराउन सकिने जानकारी दिएको छ। निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रियको तुलनमा आन्तरिकले कम इन्धन प्रयोग गर्ने भएकोले आवश्यक व्यवस्था मिलाउन सकिन्छ। अन्तर्राष्ट्रिय वायुसेवाले विकल्प खोजेको अवस्थामा आन्तरिक वायुसेवालाई इन्धन उपलब्ध गराउन भने समस्या नहुने जानकारी निगमले दिएको छ।

 त्रिभुवन विमानस्थलमा अनुमानभन्दा बढी यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अनुमानभन्दा बढी यात्रु हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ का लागि प्रक्षेपण गरेभन्दा बढी यात्रु उडान भइरहेको जानकारी विमानस्थका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए। 

 उनका अनुसार सन् २०१४ मा अन्तर्राष्ट्रिय उडानका यात्रुको अपेक्षा ३० लाख गरिएको ३२ लाख पुगेको छ भने आन्तरिक वायुसेवाको १४ लाखको अपेक्षामा १५ लाख पुगेको जानकारी उनले दिए। 

 भैरहवामा विमानस्थल तयार नहुँदासम्म उडान समस्या पर्ने भए पनि आवश्यक व्यवस्था मिलाउन सकिने जानकारी श्रेष्ठले दिए। त्रिभुवन विमानस्थल कार्यालयले गत आवमा ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ।