Live Streaming

जिविसको कार्यालय तोडफोड

जीवन सेजुवाल

मुगु,१० असोज । ठेक्काको विवादले उग्ररुप लिएपछि निर्माण व्यावसयाीहरुले जिल्ला विकास समितिकिो मुगुको कार्यालय तोडफोड गरेका छन् ।  विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डिल्रिप) अतिरिक्त लगानीतर्फको कवाचिमाडुग्रीबीचको सडक निर्माणको टेण्डर दर्ताका क्रममा जिविसको कार्यालयमा तोडफोड भएको हो । 

१२ किलोमिटर सडक निमार्णका लागि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम डिल्रिपले टेण्डर दर्ताका लागि आइतबार १२ बजेसम्म अन्तिम समय दिएको थियो । स्थानीय ठेकेदारहरुले जिल्ला बाहिरबाट आएका ठेकेदारको मिलेमतोमा प्रहरी प्रशासनले आर्थिक चलखेल गरी एकलौटी टेन्डर दर्ता गराएको भन्दै स्थानीय ठेकेदारका युवाहरुले जिविसमा तोडफोड गरी दर्ता गर्न ल्याइएका ठेकदारका कागजपत्र समेत च्यातिदिएका छन् ।   

५ करोडमा निमार्ण हुने १२ किलोमिटर सडक निमार्णका लागि २३ निर्माण कम्पनीले आबेदन फारम खरिद गरेका थिए ।  आइतबार ११ बजे जिविसमा जेभी काठमाडौं र जेभी थिनिङ्ग  धनगढीलेमात्र टेण्डर फर्म दर्ता गर्न पाएका थिए । प्रहरी प्रशासन र स्थानीय केही ब्यक्तिहरुको मिलोमोतोमार दुईजनाले मात्र फर्म दर्ता गरेपछि केही ठेकेदारका युवाले जिविस तोडफोड गरेका ठेकेदारहरुको भनाइ छ ।

निर्माण व्यावसायी संघ मुगुले निमार्णको जिम्मा लिन केही दिन अघिबाट स्थानीय ठेकेदार कम्पनीले मात्रै ठेक्का लिन पाउने भन्दै  ६ कम्पनीलाई दर्ता गर्न दिने निर्णय गरेको थियो । जसमध्ये जिल्लास्थित कांग्रेस, एमाले, एमाओवादी र नेकपा माओवादी सम्बद्ध चार  र निर्माण व्यवासायीका पदाधिकारीबाट एक र स्वतन्त्र एक  ठेकेदारलाई निर्माण आवेदन दर्ता गराउने निणर्य भएको थियो । 

आफूहरुको निर्णय अनुसार १२ बजेभित्र जिल्ला बाहिरका दुई फर्मलाई मात्र दर्ता गर्न दिएका कारण तोडफोड भएको जनाउँदै स्थानीय ठेकेदारले टेण्डर रद्ध गरिनुपर्ने माग गरेका छन् । यही सडक खण्डका लागि दुई महिना अघि ९ करोडमा टेण्डर आह्वन गर्दा नेपालगञ्जका रिगल ढकाल लगायतका ब्यक्ति र स्थानीय ठेकेदारबीच सहमति नहुँदा टेण्डर रद्ध भएको थियो ।