आजदेखि सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू
काठमाडौं,१० भदौ । भारतले गरेको नाकाबन्दी पछि पेट्रोलियम पदार्थको आयात ठप्प भएको भन्दै सरकारले आजदेखि सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको छ । गत मगंलबारदेखि भारतले पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामाग्री नेपाल प्रवेश गर्न रोक लगाएपछि सरकारले सवारी सञ्चालनमा यस्तो नियम लागू गरेको हो । नियम अनुसार जोर गते जोर नम्बर प्लेटका सवारी र बिजोर गते विजोर नम्बर प्लेटका सवारी मात्र सञ्चालन गर्न पाइने छ ।
यद्यपी विद्यालय, प्रहरी, सरकारका उच्च पदस्थ अधिकारी, सेनाको सवारी, एम्बुलेन्स, अस्पाताल, दुध र पानीको गाडी, ग्यास , प्रेस र अनुगमनमा खटिएका सवारी साधन चल्नलाई यो नियम लागू नहुने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले जानकारी दिनुभयो । यसैबिच नेपाल एलपी ग्यास उद्योग संघले हाल कुनै पनि ग्यास उद्योगमा खाना पकाउने एलपी ग्यासको मौज्दात नरहेको स्पष्ट पारेको छ । भारतबाट ग्यास आपूर्ति ठप्प भएकाले नेपाली ग्यास उद्योगमा ग्यासको मौज्दात सकिएको संघले जनाएको छ । संघले एलपी ग्यास जस्तो अत्यावश्यक पदार्थको आपूर्ति सुचारु गर्न सरकारसंँंग माग समेत गरेको छ ।