Live Streaming

देशका प्रमुख भन्‍सार नाका ठप्प

क्रान्ति शाह/कुमार लुइँटेल

वीरगन्ज/विराटनगर,८ असोज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुलुकका प्रमुख नाकामा धर्ना दिएपछि वीरगन्ज, विराटनगरलगायत देशका प्रमुख भन्सार नाका ठप्प भएका छन्।  भारतले गरेको अघोषित नाकाबन्दीका कारण काँकडभिट्टास्थित मेची भन्सार, भैरहवा र नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु आउन पाएका छैनन्।

 मधेसी दलका नेता र कार्यकर्ताले वीरगन्ज-रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दसगजा क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि धर्ना दिएर नाका ठप्प पारे। मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता-कार्यकर्ता छुट्टाछुट्टै धर्नामा बसेका थिए।

 विराटनगरस्थित जोगबनी नाकामा भारत बिहारको सीमा शुल्क (भन्सार) कार्यालयले मालवाहक गाडी नेपाल पठाएन । ४० दिनदेखि जारी मधेसी मोर्चाको आन्दोलनका कारण भारतबाट नेपालतर्फ आउने मालवाहक गाडीको संख्यामा कमी हुँदै गएको थियो। नेपालबाट जाने गाडीको संख्या पनि न्यून थियो।

 विराटनगरस्थित रानी भन्सारबाट दैनिक तीन सय मालवाहक गाडी जाँचपास हुने गरेकोमा अहिले डेढ सयमात्र हुन थालेका छन्। विराटनगर भन्सार कार्यालयमा जाँचपास भएका गाडी सुरक्षाकर्मीले स्कर्टिङ गरेर पठाउँदै आएका थिए। तर मोर्चाले नाका केन्द्रित कार्यक्रम सुरु गरेकै दिनबाट भारतबाट मालवाहक गाडी आउन छाडेका हुन्।

 तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सहअध्यक्ष हृदयेश त्रिपाठी बिहीबार विराटनगर भन्सारको १ नम्बर गेट छेउमा धर्ना बसेका थिए। सप्तरीको राजविराजबाट भारतीय बाटो हुँदै विराटनगर आएका ठाकुर र त्रिपाठी धर्नामा बसेपछि भन्सार नाका थप प्रभावित बनेको छ।

 वीरगन्ज नाकाको धर्नामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत, केन्द्रीय सदस्य वीरेन्द्र यादव, पर्सा अध्यक्ष प्रदीप यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, जिल्ला सदस्य इमदाद गद्धी, तमलोपाका केन्द्रीय सदस्य जनार्दन यादव, पर्सा अध्यक्ष पुरुषोत्तम झा, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष प्रेमचन्द्र कुशवाहालगायत नेता र कार्यकर्ता सहभागी थिए।

 संघीय समावेशी मधेसी मोर्चाको अर्को धर्नामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, केन्द्रीय सदस्य शिव पटेल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँ, नेकपा (माओवादी) का जिल्ला अध्यक्ष छोटेलाल यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी लोहियाजादीका अध्यक्ष नन्दन यादवलगायत नेता र कार्यकर्ता बसेका छन्। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले धर्ना र नाका ठप्प पार्ने कार्यक्रम मधेसका माग पूरा नभएसम्म जारी रहने बताए। मधेसी दलले दसगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण वीरगन्ज र रक्सौल दुवैतर्फ सवारी आवागमन ठप्प भयो। 

 साइकल र पैदल यात्रीले ओहोरदोहोर गरे पनि अन्य सवारीसाधन चलेका छैनन्। नाका ठप्प भएका कारण इन्धन भर्न रक्सौल हिँडेका खाली ट्यांकर वीरगन्जको शंकराचार्य गेटवारि नै रोकिएका छन्।

 वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले रक्सौलबाट एउटा पनि मालवाहक गाडी वीरगन्ज नछिरेको बताए। 'आज उताबाट एउटा पनि गाडी आएको छैन', उनले भने, 'भन्सार यार्डमै भएका सामान जाँचपास भइरहेको छ।'

 विराटनगरमा मालवाहक ट्रक र कन्टेनर आउन भारतीय सरकारी कार्यालयले नै रोक लगाएको हो। भारतीय सरकारी कार्यालयले भारतका भन्सार एजेन्टले 'नेपालमा असुरक्षा' भएको कारण जनाएर काम रोकेको र गाडी पठाउन नसकिएको दाबी गरेको छ। गाडी रोकिएपछि नेपालतर्फ विराटनगर भन्सार कार्यालयको गेट नै लागेको छ।

 गाडी ओहोरदोहोर र जाँचपास नहुँदा भन्सार क्षेत्र सुनसान छ। भारतपट्टि मालवाहक ट्रक, कन्टेनर र तेलका ट्यांकरको लाम लागेको छ। भन्सार प्रमुख कृष्ण बस्नेतले भने, ‘भारतबाट कुनै पनि मालवाहक गाडी आएनन्। 

 बुझ्दा उताका एजेन्टहरूले काम नगरेको भन्ने जानकारी दिइएको छ।' बस्नेतले पारिबाट गाडी नआउँदा भन्सार राजस्व असुली हुन नसकेको बताए।

 भारततर्फको सीमा शुल्क कार्यालय जोगबनीले केन्द्र तथा बिहार सरकारबाट सीमामा नाकाबन्दी गर्न कुनै सूचना नआएको तर एजेन्टहरूले असुरक्षाको कारण देखाउँदै काम रोकेको जनाएको छ। कार्यालयका प्रमुख प्रणेश गुप्ताले भने, ‘भारतका लरी, ट्रक र कन्टेनरका चालक नेपालतिर जान डराइरहेका छन्।' अरू कुनै कारणले मालवाहक गाडी नरोकिएको उनले बताए।

 जोगबनी भन्सार एजेन्ट संघले नेपालतर्फको सुरक्षालाई ध्यानमा राख्दै मालवाहक गाडी पठाउन नसकिएको दाबी गरेको छ । संघका अध्यक्ष लक्ष्मण यादवले भने, ‘कतिपय चालकले जान मन गरेका छैनन् । हामीलाई पनि काम गर्न कठिनाइ भइरहेको छ।'

 विराटनगर भन्सार कार्यालयबाट नियमित काम हुँदा दैनिक पाँच करोड रुपैयाँसम्म भन्सार राजस्व असुली हुने गर्छ। तर मधेसी मोर्चाको आन्दोलनसँगै राजस्व असुली पनि प्रभावित हुँदै गएको छ । भदौ महिनामा भन्सारको राजस्व असुली पनि घटेको छ।

 यसैबीच वीरगन्ज नाकामा धर्ना बसेका मधेसी दलका नेता-कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक राउन्ड हवाईफायर र पाँच सेल अ श्रुग्याँस प्रहार गरिएको छ। दसगजा क्षेत्रमा धर्ना बसेर नाका ठप्प पारेका मधेसी दलका नेता-कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो।

 प्रहरीले धर्ना बसेकालाई सुरुमा उठ्न आग्रह गरेको थियो तर उनीहरूले नमानेकाले प्रहरीले जबर्जस्ती भ्यानमा हाल्न खोजेपछि झडप सुरु भएको थियो। प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी नायबउपरीक्षक होमेन्द्र बोगटीले बताए।

 प्रहरीले लाठीचार्ज गरेपछि तितरबितर भएका मधेसी दलका नेता-कार्यकर्ता अपराह्नदेखि भारततर्फको दसगजा क्षेत्रमा गएर धर्ना बसेका छन् । भारतीय प्रहरी प्रशासनबाट हामीलाई कुनै अवरोध छैन', फोरम नेपालका अध्यक्ष प्रदीप यादवले भने, ‘यहाँका डीएमले शान्तिपूर्ण प्रदर्शन गर्दा कुनै अवरोध नहुने आश्वासन दिएका छन्।' 

नेपालतिरको दसगजा क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। पुलपारिको भारतीय भन्सार क्षेत्रमा भारतीय सीमा सुरक्षा बल पनि ठूलो संख्यामा परिचालन भएका छन् । दसगजा क्षेत्र राति अबेरसम्म तनावग्रस्त थियो।