मोर्चाका कार्यकर्तासँग सुतली र पेट्रोल बम
विराटनगर,६ असोज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको दाबी गरिरहेका बेला मोर्चाकै कार्यकर्ताबाट विराटनगरमा पेट्रोल बम र सुतली बम फेला परेको छ । आन्दोलनलाई हिंसात्मक बनाउन घुसपैठ भइरहेको दाबी गरिरहँदा मोर्चाकै कार्यकर्ताबाट बम फेला पर्नुले मोर्चाको दाबी गलत सावित भएको छ ।
प्रहरीमाथि ढुंगामुढा गरिरहेका बेला मंगलबार साँझ विराटनगर–१४ महावीर चोकबाट पक्राउ परेका मोर्चाका कार्यकर्ता अमर मरिकबाट प्रहरीले विष्फोट गराउन तयारी अवस्थाको दुई प्रकारका बम फेला पारेको हो ।प्रहरीमाथि ढुंगामुढा गरिरहेको अवस्थामा विराटनगर–१५ का १८ वर्षीय मरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर मरिकको शरीर र गोजी खानतलासी गर्दा विष्फोटका लागि तयारी अवस्थामा राखिएको पेट्रोल बम र सुतली बम फेला परेको जानकारी दिए ।
‘आन्दोलनकारी बनेर प्रहरीमाथि ढुंगा हानिरहेको बेला मरिकलाई पक्राउ गरिएको हो,’ एसपी लम्सालले भने, ‘खानतलासी गर्दा बमनै फेला प¥यो ।’एसपी लम्सालले विष्फोटका लागि तयारी अवस्थामा राखिएको बमसहित मानिस पक्राउ नगरिएको भए प्रहरीलाई लक्षित गरेर प्रहार गर्ने योजना आन्दोलनकारीले बनाएको दाबी
गरे ।
‘सुरुमा ढुंगा हान्ने र पछि प्रहरीमाथि बम प्रहार गर्ने योजना आन्दोलनरत मोर्चाको रहेछ’, एसपी लम्सालले भने, ‘मरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि यो रहस्य बाहिर आयो ।’
लम्सालले बम प्रहार गर्ने व्यक्तिलाई पहिलेनै नियन्त्रणमा लिन प्रहरी सफल भएका कारण बमले हुने क्षति हुन नपाएको बताए ।उनले मोर्चाकै कार्यकर्ताबाट बम फेला परेपछि बुधबारदेखि मोर्चाको आन्दोलनमा कडाई गर्न थालिएको बताए ।‘सबै ठाउँमा चेकजाँच र निगरानी बढाएका छौ,’ एसपी लम्सालले भने,‘ सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिती बढाएर विशेष अप्रेशन थालिएको छ ।’
मोर्चाले बाहिर बाहिर आफूहरुको आन्दोलन शान्तिपूर्ण भनेर भन्ने गरेपनि व्यवहारमा भने भिन्न पाइएको निष्कर्श प्रहरीले निकालेको छ ।‘बाहिर बाहिर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको भनेर सुरक्षाकर्मी देखि लिएर सबै पक्षलाई आश्वास्त पार्ने र भित्र भित्रै अशान्ति मच्चाउने योजना रहेको बुझियो,’ लम्सालले भने, ‘आन्दोलनरत पक्ष बम प्रहार गरेर ठूलो क्षति गराउने र जनजीवन आतंकित पार्ने योजनामा रहेको पत्ता लागेको छ ।’
मोर्चाका कार्यकर्तासँग बम फेला परेसंगै यस अघि विराटनगरका पेट्रोल पम्प, एमएम प्लाष्टिक उद्योग लगायतमा भएका बम विष्फोटका घटनामा मोर्चाकै संलग्नता रहेको निस्कर्ष सुरक्षा निकायले निकालेका छन् ।
यसअघि भएका बम विष्फोटका घटनामा मोर्चाले आफ्नो कुनैपनि संलग्नता नरहेको र आन्दोलनलाई असफल बनाउने तत्वले घुसपैठ गरेर जनजीवन आतंकित बनाउने हिसावले बम विष्फोट गराएको दावी गर्दै आएको थियो ।आन्दोलनरत मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले आन्दोलनमा सहभागी भएका मरिकलाई प्रहरीले पक्राउ गरेको जानकारी आएको बताए ।
‘मरिकलाई पक्राउ गरिएको भन्ने जानकारी आएको छ,’ यादवले भने, ‘तर उनका साथबाट बम फेला परेको भन्ने जानकारी छैन ।’उनले आफूहरुको आन्दोलन शान्तिपूर्णनै रहने र मोर्चाका कुनैपनि कार्यकर्ता बम बोक्ने तथा प्रहार गर्ने घटनामा संलग्न नरहने दाबी गरे ।