पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन्छ : आयल निगम
काठमाडौं,७ असोज । नेपाल आयल निगमले मागअनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको जनाएको छ । नेपालमा संविधान घोषणाप्रति बेखुसी देखिएको भारतले नाकाहरु बन्द गर्ने आसयको पत्रले पेट्रोलियम पदार्थको अभाव हुने आशंकामा हिजोदेखि राजधानीका पेट्रोलपम्पहरुमा सवारी साधको लाइन छ ।
निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काका अनुसार हालसम्म आपूर्तिमा कुनै समस्या नरहेको र दैनिकरुपमा मागअनुसार भारतीय आयल कर्पोरेसनले तेल उपलब्ध गराइरहेको जानकारी दिनुभयो । बन्द, लगातारको बिदा र नाकाबन्दीको चर्चाले तेल अभाव हुने डरले उपभोक्ता अधिक सञ्चय गर्नतिर लाग्र्दा पम्पहरुमा भीड बढेको उहाँको दाबी छ । भैरहवा र रक्सौल नाकाबाट दिनहुँ मागअनुसार पेट्रोलियम पदार्थ भित्रिरहेको र निगमले पनि सामान्य समयभन्दा पनि बढी बिक्री गरिरहेको समेत उहाँले बताउनुभयो ।