प्रधानमन्त्री कोइराला राष्ट्र संघको महासभामा नजाने
ज्ञानेन्द्र खड्का
काठमाडौं, ७ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क नजाने भएका छन् ।राष्ट्र संघको ७० औं महासभामा भाग लिन जाने कार्यक्रमलाई प्रम कोइरालाले अन्तिम समयमा अाएर स्थगति गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रम भ्रमणमा नजाने भएपछि मधेसी दलसँगको संवाद अघि बढाउन बुधबार मध्यान्ह तीन दलको बैठक बस्दैछ ।तीन दलको बैठकअघि प्रमले भारतीय राजदुत रञ्जीत रेसँग भेटवार्ता गर्दैछन् । राजदूत रे प्रमलार्इ भेट्न दिल्लीबाट काठमाडाैं अाेर्लेर बालुवाटार जाने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बुधबार बिहानै विज्ञप्ती निकालेर प्रमको भ्रमण अन्तिम समयमा स्थगित भएको जानकारी दिएका छन् ।संविधान जारी भएपछि भारतको आक्रोशपूर्ण व्यबहार र मधेसमा आन्दोलन नरोकिएपछि प्रम कोइराला राष्ट्र संघको महासभामा नजाने भएका हुन् ।
मधेसी दलहरुको माग सम्बोधनका लागि वार्तामार्फत समाधान खोज्न चौतर्फी दबाब बढेपछि प्रम कोइरालाको न्यूयोर्क भ्रमण रद्द भएको हो ।मंगलबारदेखि तीन दलका शीर्ष नेताहरुले मधेसी दलसँगको संवादलाई तीब्र पारेको अवस्थामा त्यसलाई बीचैमा छाडेर विदेश नजान दबाब बढेपछि प्रम कोइराला रोकिएका हुन् ।
मंगलबार बालुवाटारमा बसेको तीन दलको बैठकमा पनि शीर्ष नेताहरुले मधेसीसँगको वार्तालाई बीचैमा छाडेर न्यूयोर्क नजान प्रम कोइरलालाई सुझाएका थिए ।‘नेपालमा जारी घटनाक्रम र मधेसी दलसँगको संवादलार्इ निष्कर्षमा पुर्याउन भ्रमण स्थगित भएको हो ’, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भने, ‘देशमा जारी राजनीतिक घटनाक्रमले भ्रमणमा नजाने निष्कर्श निकाल्नु भएको हुनसक्छ ।’प्रम कोइराला आजै बेलुका ४ बजे १७ सदस्यीय टोलीसहित न्यूयोर्क जाने कार्यक्रम थियो ।
महासभामा प्रम कोइरालाले नेपाली नयाँ संविधान जारी भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम थियो ।एक वर्षअघि न्यूयोर्क क्यान्सरको उपचार गराएका प्रम कोइरालाले त्यहीँ स्वास्थ्य परीक्षण गर्ने योजना बनाएका थिए ।न्यूयोर्क नजाने भएपछि मंगलबारबाट मधेसी मोर्चासँग शुरु वार्तालाई तीन दलले निचोडमा पुर्याउने भएका छन् । संविधान संशोधन गरेर भएपनि मधेसी दलको माग सम्बोधन गर्ने तयारी तीन दलको छ ।