Live Streaming

हामी 'एस म्यान' बन्दनौ: प्रचण्ड

चिरञ्जीवी ढुंगाना/बालकुमार नेपाल

असन्तुष्टका माग सम्बोधन गर्छौं: कोइराला

संविधानमा संशोधन गर्न तयार छौं : ओली

काठमाडौं,५ असोज । लोकतन्त्र स्थापना भएको नौ वर्षमा नयाँ संविधान जारी भएको खुसीयालीमा सरकारको आयोजनामा सोमबार आयोजित स्वागत सभामा प्रमुख तीन दलका शीर्ष नेताहरूले अब मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा गरेका छन्।

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पमकल दाहालले सभालाई सम्बोधन गर्दै असन्तुष्ट पक्षका माग सम्बोधन गरी मुलुकलाई आर्थिक विकासतर्फ अघि बढाउने बताए। उनीहरूले मधेस, संघर्षरत थारू र जनजातिका असन्तुष्टि नयाँ संविधानमार्फत सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 सभामा काठमाडौं उपत्यकाको सांस्कृतिक परम्परा झल्कने बाजागाजा, नाचगानसहितका झाँकीसमेत प्रदर्शन गरिएको थियो। सभामा कर्मचारी, सुरक्षाकर्मी र सामाजिक संसघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति भए पनि दलका कार्यकर्ता तथा शुभेच्छुकको संख्या भने पातलो थियो।

 सभामा सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष दाहालले भने, ‘हामी नेपाली छिमेकीहरूको असल मित्र बन्छौं तर 'एस म्यान' बन्न सक्दैनौं।'उनले छिमेकीले एकअर्काको भावना बुझ्नुपर्ने उल्लेख गर्दै दुवैले एकअर्काको चाहना बुझेर सहयोग गर्नुपर्ने बताए। 

 संविधान घोषणाको स्वागत नगरेको भारतप्रति कडा प्रतिक्रिया जनाउँदै दाहालले सभामा भने, 'म भारतीय नेताहरूलाई आग्रह गर्न चाहन्छु, असल मित्रका नाताले तपाईंहरूको चासोलाई हामी सहयोग गर्छौं। हाम्रो चाहना र चासो तपाईंहरूले सहयोग गर्नुपर्छ।'

 राजामहाराजा र तिनका विशिष्ट व्यक्तिले आफ्नो पटांगिनीदेखि महलसम्म संविधान जारी गर्ने परिपाटी अन्त्य भएको घोषणा गर्दै दाहालले भने, 'आजदेखि जनताको युग प्रारम्भ भएको छ। त्यसैले जनता र जनप्रतिनिधिबीच संविधान घोषणा भएको हो।'

 अहिलेको संविधानमा तराईले खोजेजस्तो संघीयता, जनाजातिले खोजेजस्तो समावेशिता र सबैले खोजेजस्तो लोकतन्त्रिक भएकाले अझै केही समस्या भए जारी भएकै संविधानको विधि र प्रक्रियाबाट निकासमा पुग्न सकिने दाहालले बताए। 

 नयाँ संविधानप्रति केही दल आदिवासी, जनजाति, मधेसी र थारू समुदायको असन्तुष्टि आएको उल्लेख गर्दै उनले आफू उत्पीडित जनता, भाषा, संस्कृति, जागरण अभियानमा लागेर आएकाले ती माग सँगै रहेको बताए। जारी संविधान कार्यन्वयनमा चुनौती रहेको स्वीकार गर्दै दाहालले पार्टीहरू र जनताबीचको राष्ट्रिय एकताले मात्र यो सम्भव हुने बताए।

 स्वागत समारोहमा एमाले अध्यक्ष केपी ओेलीले संविधान निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै छिमेकीहरूबाट पाएको सहयोगप्रति धन्यवाद प्रकट गरे। उनले नेपालीहरूले स्वाभिमान कायम राखेर छिमेकीसँग मित्रता गर्ने बताए। 

 संविधान जारी भएपछि विविधताबीच राष्ट्रिय एकता कायम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। 'संविधान बानाउन ढिला भएको आवाज आएकै हो। हामीले यसअघि नै ८-९ वर्ष ढिला गरिसकेको पनि सत्य हो,' ओलीले भने। 

 पहिलो संविधानसभा असफल भएको पाठ सिकेको र संविधानसभाबाट संविधानकै लागि ७० वर्ष विताएकाले ढिला नगरी संविधान घोषणा गरेको उनले बताए। उनले यो संविधान बन्दा सबैको जित भएको उल्लेख गर्दै कसैले पनि असन्तुष्टि प्रकट गर्नु आवश्यक नरहेको बताए।'संविधान अपरिवर्तनीय होइन, आवश्यक भएमा संशोधन गर्न सकिन्छ र त्यसका लागि तीन दल प्रतिबद्ध छन्,' उनले भने।

 उनले लोकतन्त्रमा जनताका जायज माग सम्बोधन हुने उल्लेख गर्दै वार्तामा आउन थारू, मधेसीलगायत असन्तुष्ट पक्षलाई आग्रह गरे। असन्तुष्ट पक्षतर्फ लक्षित गर्दै ओलीले भने, 'तपाईंहरूको अधिकार संविधान पढेर यहाँनेर छैन भन्‍नुस्, हामी त्यसमा वार्ता गरेर सच्याउन तयार छौं, तर संविधान ऐनाजस्तो छ सबै पढेपछि देख्नुहुन्छ।'

 सभामा प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट बाहिरिएका असन्तुष्ट पक्षसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न तयार रहेको बताए। उनले भने, 'संविधानप्रति असन्तुष्टि जनाएका आदिवासी, जनजाति, मेधसी र थारू समुदायलाई एकता, मेलमिलाप र वार्ताबाटै समस्या सम्बोधन गर्ने प्रतिबद्धता प्रकट गर्दछु।

 उनले अबको समय आर्थिक विकासको भएकाले भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित हुने बताए। उनले प्रजातन्त्रका लागि तराईमधेसका नेताहरूको ठूलो योगदान भएको स्मरण गर्दै राष्ट्रिय एकता, सहमति, मेलमिलापको मूल एजेन्डालाई अगाडि बढाउनसमेत आग्रह गरे।