Live Streaming

​झापामा बम बिष्फोट

झापा,२९ भदौ । झापाका बेग्लाबेग्लै स्थानमा गएराती २ बटा बम विष्फोट भएका छन् । संविधान घोषणा गर्ने मिति संविधानसभाले घोषणा गरेकै रात झापाको दमकस्थित ज्योती चर्च र खजुरगाछि स्थित ईन्मानुएल चर्चमा बम बिष्फोट भएको हो । बिष्फोटबाट चर्चहरुमा कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भिम सिलवालले जानकारी दिनुभयो ।

राती साढे ११ बजेको समयमा दमकको ज्योती चर्चको मेन गेट र उत्तर पट्टीको भागमा बिष्फोट भएको थियो । सोहि समयमा खजुरगाछि स्थित ईन्मानुएल चर्चमा पनि बिष्फोट भएको थियो । बिष्फोटबाट चर्चका सिसा तथा पर्खालमा क्षति पुगेको छ ।

बिष्फोटको जिम्मा हिन्दु मोर्चा नेपाल नामक संगठनले लिएको प्रहरी निरिक्षक सिलबालले जानकारी दिनुभयो । चर्चहरुमा भेटिएको पर्चामा देशलाई हिन्दु राष्ट्र नबनाएको विरोधमा सो बिष्फोट गराइएको अभियान सिंह नामक व्यक्तिको हस्ताक्षरित पर्चामा उल्लेख गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।