असोज ३ गते नयाँ संविधान आउने
काठमाडौं,२९ भदौ । संविधानसभाबाट असोज ३ गते जारी हुने संविधान घोषणा गर्नका लागि सभाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति रामबरण यादवलाई निमन्त्रणा गर्नुभएको छ । आज विहान राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माण प्रकृया र संविधान जारी हुने बारे औपचारीक जानकारी दिदै निमन्त्रणा पत्र दिनुभएको थियो । निमन्त्रणा पत्र बुझ्दै राष्ट्रपति यादवले छिट्टै औपचारिक जवाफ पठाउने बताएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।
संविधानसभा सचिवालयले संविधानको अन्तिम विधेयक सम्पूर्ण रुपमा पारित गरी असोज ३ गते अपरान्ह ५ बजे संविधान सार्वजनिक गर्ने कार्यक्रम तयार गरेको हो । संशोधन प्रस्तावसहित संविधानका सबै धारामा मतदान, एकमुष्ठ विधेयकमाथि २ तिहाई सभासदले पारित गर्ने प्रक्रियाका लागि लाग्ने समय समेतलाई ख्याल गरी सो मितिमा संविधान जारी गर्ने तय भएको सभाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।
स्रोतका अनुसार त्यस ऐतिहासिक क्षणमा शुभचिन्तक मुलुकका राजनेतालाई उपस्थित गराउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले समेत शीर्ष नेतालाई सुझाउनुभएको छ । संविधान जारी गर्नुअघि काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखलाई बोलाएर जानकारी दिने र उनीहरूसँग छलफल गरेर सरकार प्रमुख, विदेशमन्त्री तथा राजनीतिक दलका नेताहरूलाई निम्त्याउनेबारे टुंगो लगाउनेमा सरकार लागिपरेको छ