प्रहरी चौकीमा आगजनी
जनकपुर,२८ भदौ । मधेशकेन्द्रित दलहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दका क्रममा बन्दकर्ताहरुले धनुषाको लालिया प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले प्रहरी चौकीभित्र रहेका दुइ वटा मोटरसाइकलमा पनि आगजनी गरेका छन् ।
१ महिना भन्दा बढी समयदेखि बन्द गरी आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन पनि गरिरहेका छन् । यस्तै तराईका अन्य जिल्लाहरुमा पनि पनि मोर्चाले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
उता कैलालीको टिकापुरसहित पूर्वी क्षेत्रका २ नगरपालिका र ७ वटा गाविसमा आजदेखि ७ घन्टा कर्फ्यु हटाएको छ । स्थानीय प्रशासनले आज बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म कर्फ्यु हटाएको हो । चाडपर्व नजिकिंदै गर्दा प्रशासनले कर्फ्युको समय घटाउँंदै गएपछि स्थानीयबासीले केही सहज महशुस गरेका छन् ।
७ घन्टाका लागि कर्फ्यु हटेसँगै अहिले बिहानैदेखि नै स्थानीय बजार तथा सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ । टिकापुर घटना यता दैनिक कर्फ्यु लगाएको स्थानीय प्रशासनले कर्फ्यु खुकुलो बनाउँंदै लगेको छ । धनगढीमा भने दैनिक मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म कर्फ्यु लाग्दै आएको छ ।