संविधान पारित गर्न मतदान प्रक्रिया आज पनि जारी
काठमाडौं,२८ भदौ । संविधानसभामा नयाँ संविधानका लागि हिजोबाट सुरु भएको मतदान प्रकृया आज पनि जारी रहनेछ । हिजो साँझ सुरु भएर तीन ओटा धारा पारित गर्दै स्थगित संविधानसभा बैठक आज फेरी ११ बजेबाट सुरु हुनेछ । संविधानसभा बैठकले संविधानको परिमार्जित विधेयकको धारा १,२ र ३ लाई नयाँ संविधानको अंगको रुपमा स्वीकृत गरेको हो ।
धाराहरुमा परेका संशोधन प्रस्तावहरुमाथि संविधानसभामा मतदान गराई पास गरिएको हो । ९० प्रतिशत सभासदले मतदानमा भाग लिएको संविधानसभा सचिवालयले जनाएको छ । आज धारा ४ बाट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।
विधेयकमाथि ५४ वटा संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । प्रमुख दलले आफ्नो एजेन्डालाई निरन्तर बेवास्ता गरेको जनाउँदै संविधानसभाबाट केही दिनअघि बाहिरिने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संविधान लेखन प्रक्रियामा पुनः सामेल भएको छ । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले हरेक धारणा निर्णयार्थ पेश गरेपछि ध्वनि मतका आधारमा पारितको प्रक्रिया सुरु हुनेछ । बिहान ११ बजे बोलाइएको बैठक साँझ ७ बजेसम्म जारी रहनेछ ।
भोलिसम्ममा सबै धारामा छलफल सक्ने संविधानसभा सचिवालयले जनाएको छ । हरेक धारालाई उपस्थित सभासद्को दुई तिहाईले स्वीकृत गरेपछि संविधानको अङ्ग मान्दै पारित गरिनेछ । दफाबार छलफलपछि यही महिनाभित्रै वा नभए असोज ३ भित्र संविधान जारी गरिनेछ ।