बन्दले गर्दा तराईको जनजीवन थप प्रभावित
काठमाडौं,२७ भदौ । चाडपर्व नजिकिदै गर्दा पनि करिब १ महिनादेखि जारी अनिश्चितकालिन बन्द स्थगन नहुदा तराइका जिल्लाका बासिन्दा झनै प्रभावित बन्दै गएका छन् । आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिन, बन्दका कारण सर्वसाधारणहरु टाढा टाढा रहेका आफ्ना बुवाको मुख हेर्न जान पाएका छैनन् भने हारितालिका तिजका लागि किनमेल गर्न पनि नपाएको गुनसो बढेको छ ।
बन्दका कारण दैनिक जनजीवन कष्टकर हुनुका साथै दिनहुँ हुने गरेका हिंसात्मक आन्दोलनका कारण स्थानीयबासी त्रसित छन् । मधेशकेन्द्रित दलहरुले आह्वान गरेको बन्दका क्रममा आन्दोलन हिंसात्मक बन्दै गएपछि धुनषाको जनकपुर र महोत्तरीको जलेश्वरमा कर्फ्यु जारी छ भने अन्य जिल्लाहरुमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जनकपुरमा भने हिजो साँझ ६ बजेदेखि ८ बजेसम्म कफर््यु हटाइएकाले सर्वसाधारणहरुलाई केही राहत मिलेको थियो ।
महोत्तरीमा हिजो एक जना प्रदर्शनकारीको मृत्यु भएपछि स्थिती तनावग्रस्त हुन नदिन आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा झनै बनाइएको हाम्रा सहकर्मीले जनाएका छन् । त्यसअघि आन्दोलनकारीहरुले एकजना प्रहरी असइको हत्या गरेदेखि नै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको थियो ।