विधेयकमाथिको मतदान प्रक्रिया आजबाट सुरु
काठमाडौं,२७ भदौ । संविधान विधेयकमाथि मतदान प्रक्रिया संविधानसभामा आज सुरु हुंँंदैछ । अस्ति शुक्रबार नै मतदान हुने कार्यसूची रहेपनि प्रमुख राजनीतिक दलहरुले आन्दोलनरत पक्षसँंंग वार्ता गर्न २ दिन प्रक्रिया स्थगित गरेर आजका लागि सारिएको हो ।
प्रमुख दलहरु र आन्दोलनरत मधेशी दल, थारु समुदायसंग अहिलेसम्म वार्ता नभएपनि अनौपचारिक छलफल भइरहेकाले दलहरुले कुनै निर्णय नगरे आज संविधानसभा सचिवालयले मतदान प्रक्रिया शुरु गर्नेछ । सचिवालयका अधिकारीहरुका अनुसार, विहान साढे ११ बजे शुरु हुने पहिलो चरणको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरुले संविधानसभा बैठकमा सम्वोधन गर्नेछन् ।
त्यसपछि बस्ने दोस्रो बैठकको शुरुमा विधेयकमा परेका संसोधन प्रस्तावमा ध्वनिमतका आधारमा संविधानसभाले निर्णय लिनेछ । त्यसपछि हरेका धारा पारित गर्न पालैपालो पेश हुनेछ । यदी संविधानसभा सदस्य संख्याको १० प्रतिशत अर्थात ६१ सभाषद्ले मतविभाजन माग गरेमा मतदानबाट निर्णय लिइनेछ । त्यसपछि संविधानको अन्तिम विधेयक तयार गरी मतदानमा लगिनेछ । संविधानसभामा हाल कायम रहेका सभाषद् संख्याको २ तिहाइले मत दिए विधेयक पारित हुनेछ ।
संविधानसभामा हाल ५ सय ९८ सभाषद् छन् । त्यसरी बन्ने नयां संविधान सविधानसभा अध्यक्षले प्रमाणिकरण गरेपछि राष्ट्रपतिले जारी गर्नुहुनेछ । संविधानसभा सचिवालयले भदौ महिनाभित्रै नया संविधान जारी गर्ने तयारी अघि बढाइरहेको छ ।