Live Streaming

सर्पदंशबाट चार महिलाको मृत्यु

मनोहरकुमार
राजविराज, २५ भदौ . घाँस काट्दै गरेका बेला सर्पले डसेर सप्तरीमा शुक्रबार एक महिलाको मृत्यु भएको छ । पातो गाविसकी झुटकन यादवकी श्रीमति ४५ वर्षीया लगन यादवको उपचारका क्रममा मृत्यु भएको अञ्चल अस्पताल राजविराजले जनाएको छ । 

यादवलगायत दुई साताभित्र सप्तरीमा चार महिलाको सर्पदंशले मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । गत मंगलबार भारदह ८ भलुवास्थित माइतघरमा सुतिरहेका बेला राजविराज २ बस्ने नरेश यादवकी श्रीमति १९ वर्षीया पुनम यादवको सर्पले डसेर मृत्यु भएको थियो ।

यसैगरी गत शनिबार बरही विरपुर २ की जंगली पण्डितकी १३ वर्षिया छोरी गुडिया कुमारी पण्डितको र गत भदौ १४ रम्पुरा मल्हनिया ९ का रामनारायण यादवकी छोरी १६ वर्षीया कैशिल्या कुमारीको यादवको सर्पदंशले मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । 

गर्मी र वर्षाका बेला विषालु सर्पले डसेर दैनिक २÷३ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । उपचारका लागि ढिलो गरी अस्पताल ल्याउनाले विरामीलाई जोगाउन अप्ठ्यारो पर्ने गरेको डा. उषा देवले बताइन् ।