डा. केसी फेरी अनशन बस्ने
काठमाडौं,२५ भदौ । सरकारले पछिल्लो सम्झौता कार्यान्वयनमा नलगेर फेरी धोका दिएको भन्दै डा गोविन्द केसीले आज दिउसोबाट फेरी अनशनमा बस्ने तयारी गर्नुभएको छ । केसीको १४ दिनलामो छैठौं अनशन तोड्न सरकारले गत शनिवार ११ बुंदे सहमति गरेको थियो । त्यसलगत्तै बस्ने मन्त्रीपरिषद्को बैठकले चिकित्साशास्त्र शिक्षा आयोग गर्ने बुंदा सो सहमतिमा रहेपनि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले त्यसो नगरी सामाजिक समितिलाई जिम्मा लगाएको थियो ।
त्यसबाट रुष्ट बनेका डा केसीले मंगलबार विज्ञप्ति जारी गरी हिजोसम्म माग पुरा नभए आजबाट फेरी अनशन बस्ने चेतावनी दिएपनि सरकारले कुनै वास्ता गरेको छैन। आज दिनभरपनि सरकारले कुनै प्रतिक्रिया नजनाए केसीले दिउसो ३ बजेबाट अनशन थाल्ने बताउनुभएको छ । सरकारका मुख्य सचिव र योजना आयोगका उपाध्यक्ष जस्ता जिम्मेवार अधिकारीले आफूसंँंग गरेको सम्झौता कार्यान्वयन नगरेर सरकारले लाचारी देखाएको केसीको आरोप छ । त्रिभुवन विश्वविद्यालय हाडजोर्नी विभागका बरिष्ठ चिकित्सक केसी चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका पक्षमा लामो समययता संघर्षरत हुनुहुन्छ ।