संविधानको विधेयकमाथिको छलफल आज पनि जारी
काठमाडौं,२४ भदौ । संविधानको विधेयकमाथीको छलफल आज पनि जारी छ । संविधान विधेयक माथिको छलफल छोट्याएर संविधान जारी गर्ने तयारी सुरु भएको छ । सभासदहरुले राखेका संसोधन प्रस्तावमाथि छलफल आज सकिने र प्रमुख तीन दलको साझा संसोधन प्रस्ताव पेश हुने संविधानसभा सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार आज बिहानको पहिलो बैठकमा संशोधनकर्ता सभासदले आफ्नो प्रस्ताव पेस गर्ने क्रम पूरा हुने छ । तीनदलका प्रमुख सचेतकहरुले संसोधन प्रस्ताव पेश गर्दै त्यसको औचित्यका विषयमा प्रष्टपार्नेछन् । प्रमुख तीनदलका तर्फबाट संसोधन प्रस्ताव पेश भएपछि दफावार छलफल सुरु हुनेछ ।
दफाबार छलफल सकिएपछि तीनदलका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूची छ । सम्भव भए आजै नभए भोलि प्रमुख तीन दलका नेताहरुले सम्वोधन गर्नेछन् । त्यसै क्रममा एमाओवादीले शासकीय स्वरूपसहितका विषयमा राख्दै आएको फरक मतलाई आफ्नो राजनीतिक अडानका रूपमा संविधानसभामा रेकर्ड गराउनेछ ।
उसले संविधान विधेयक पारित गर्ने प्रक्रियालाई सहज बनाउन संस्थागत रूपमा छुट्टै संशोधन दर्ता गराएको छैन । संशोधनकर्ता सभासदहरूले समयमै संविधानलाई सर्वस्वीकार्य बनाउन आ–आफ्ना प्रस्ताव उपयुक्त रहेको दाबी गर्दै त्यसलाई साझा प्रस्तावको रूपमा समर्थन गर्न अन्य सभासदहरूलाई आग्रह गरेका छन् ।