Live Streaming

​आज बीपी जयन्ती

काठमाडौं,२४ भदौ । नेपाली प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व एवं नेपाली कंग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय १ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । वीपीको जन्मजयन्तीका अवसरमा नेपाली कंग्रेस र उसका भातृ तथा सुभेच्छुक संघ सगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

वि. सं १९७१ भदौ २४ मा जन्मेका कोइरालाले जहानियाँ राणा शासनविरुद्ध आन्दोलन गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ २०१५ सालमा भएको पहिलो आम निर्वाचनपछि झण्डै डेढ बर्ष प्रधानमन्त्री बन्नुभएको थियो ।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले सैनिक कु मार्फत सत्ता हत्याएपछि बीपीलाई लामो समय सुन्दरीजल जेलमा कैद गरिएको थियो। जेलबाट रिहाइलगत्तै भारतमा निर्वासनमा गएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अँगाल्दै नेपाल फर्कनु भएको थियो।

पछिल्लो समय नेपाली कंग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाका आर्दश र मूल्य मान्यताबाट विमुख हुंदै गएको आरोप खेप्दै आएको छ  । बीपी कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट योगदान छ । घांटीको क्यान्सरका कारण २०३९ सालमा उहाँको निधन भएको थियो ।