सरकारी कार्यक्रममा तोडफोड तथा आगजनी
महोत्तरीमा कफ्र्यु
सप्तरी,२४ भदौ । आन्दोलनतरत मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराजका दुईवटा सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् । झण्डै एक महिना यता तराईका जिल्लामा बन्द गर्दै आएको मोर्चामा आवद्ध दलका कार्यकर्ताले मध्य रातीनै सदरमुकाम राजविराजस्थित सरकारी कार्यलयमा तोडफोड गरेका हुन् ।
उनीहरुले जिल्ला पशु सेवा कार्यलय तोडफोड र वन कार्यलयमा आगजनी गरेको हाम्रा सहकर्मीले जनाएका छन् । तोडफोड तथा आगजनीका कारण पशु सेवा कार्यालयको गेटमा क्षति पुगेको छ भने वन कार्यलयभित्रका सामान जलेका छन् ।
यसैबिच बन्दका क्रममा हिजो दिनभर तनावग्रस्त बनेको महोत्तरीमा आज कर्फ्यु आदेश जारी गरिएको छ । हिजो प्रहरीसँगको झडपका क्रममा ४ जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको जलेश्वरमा राती ८ बजेदेखि प्रशासनले कर्फ्यु लगाएको हो ।
प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि दुइपक्षबिच झडप भएको थियो । जलेश्वर घटनापछि महोत्तरी लगायत आसपासका जिल्लामा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ । धनुषाको जनकपुरमा आन्दोलनकारीहरुले बन्दलाई अझै शसक्त बनाएका छन् ।
यसअघि छिटपुट खुल्ने गरेको पसहरु समेत बन्दकर्ताहरुले बन्द गराएका छन् । यसैगरी मोरङको विराटनगर र सप्तरीको भारदहमा पनि सुरक्षा व्यवस्था अन्त्यन्तै कडा बनाइएको छ । प्रादेशिक संरचनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको १ महिना पुग्न लाग्दा तराइका जिल्लाको जनजीवन दिनानुदिन दयनिय बन्दै गएको छ ।