Live Streaming

​वार्ताको औचित्य छैन : मधेसी दल

काठमाडौं,२४ भदौ । प्रमुख तीन दलले वार्ताका लागि गरेको संयुक्त आह्वानप्रति मधेशी दलहरु यसअघिजस्तै नकारात्मक देखिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माण प्रक्रिया स्थगन, सेना परिचालन फिर्ता र विगतका सहमति कार्यान्वयनलाई वार्ताको पूर्वसर्त बनाएको छ । बिजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकको नेतृत्वमा गठित संघीय लोकतान्त्रिक मोचाले पनि थारु, मेधशीको माग सम्बोधन हुने निश्चित भएमात्र वार्ताको औचित्य हुने प्रतिक्रिया दिएको छ । 


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले तराईमा हिंसात्मक घटनामा जनता मर्ने क्रम नरोकि वार्तामा बोलाउनु तीन दलको द्धैध चरित्र भएको टिप्पणी गर्नुभयो । प्रमुख दलहरुले संविधान निर्माण प्रक्रिया नरोक्ने र विगतको सम्झौता कार्यान्वयन नगर्ने भए वार्तामा बस्नुको औचित्य नहुने उल्लेख गर्नुभयो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले ३ दलको वार्ता आह्वानलाई नौटंकीको संज्ञा दिनुभयो । प्रदर्शनमा उत्रिएका मधेशी जनतामाथि बन्दुक चलाउन नछोड्को अवस्थामा बार्ताका लागि गरिएको आव्हानको कुनै महत्व नरहेको उहांँंको भनाई छ । 


त्यसैगरी संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले मधेसमा उत्पन्न संवेदनशील परिस्थितिलाई नेताहरुले महसुस गर्न नसकेको भन्दै वार्तामा बस्नुको अर्थ नहुने बताउनुभयो । कंग्रेस, एमाले र एकीकृत माओवादीले ठोस एजेण्डा अघि सारेर, थारु, मेधशीको माग सम्बोधन गर्ने निश्चित गरेमात्र बार्ताको औचित्य हुने उहाँको भनाइ छ । प्रमुख तीन दलले हिजो संयुक्त बक्तब्य जारी गर्दै आन्दोलनरत पक्षलाई बार्तामा आउन आग्रह गरेका थिए ।