Live Streaming

सरकार ! अब स्कुल बन्द नहोस्

बाढीपीडित बालबालिकाले भने ,सरकार ! अब स्कुल बन्द नहोस्

ललितबहादुर बुढा


सुर्खेत,२३ भदौ । बाढीपहिरोका कारण घरबारविहीन बनेका उनीहरु अस्थायी शिविर वरपर खेल्दै थिए । कोही त्रिपालभित्र थिए भने कोही नजिकै रहेको खोलामा । एक वर्षअघि घरबार गुमाएका उनीहरुमध्ये केही धुलोमा घर बनाउने खेल खेलेर आपसमा रमाइलो गर्दै थिए । शिविर घना जंगलको बिचमा भएको र विद्यालय पनि टाढा भएका कारण उनीहरु विद्यालय नगएर खेल्नमै व्यस्त थिए ।

त्यहीबेला मध्यपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय र सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमाल सहितको टोली शिविरमा पुग्यो । सरकारी टोलीले आफूहरु शिक्षा दिवस मनाउन सदरमुकाम वीरेन्द्रनगरबाट आएको बताएपछि शिविरका बालबालिकाहरु जम्मा भए । राष्ट्रिय शिक्षा दिवसको बारेमा कुनै पत्तो नपाएका विस्थापित बालबालिकाले सरकारी टोली शिविरमा पुगेपछि मात्र दिवसको बारेमा पत्तो पाए । एक वर्षदेखि जंगलको बिचमा टांगिएका त्रिपालमुनि रात बिताउँदै आएका सुर्खेत लेखपराजुलका बाढीपीडित बालबालिकाको मुहारमा मंगलवार भने केही खुशी छाएको थियो । सरकारी प्रतिनिधीहरुसँग शिविरमै शिक्षा दिवस मनाउन पाएपछि बालबालिकाहरुले एक वर्षपछि मात्र आफूहरुले सरकार भएको अनुभूति गरेको बताए । 

यस वर्षको शिक्षा दिवस लेखपराजुलको शनिमोर शिविरमा बाढीपीडित बालबालिकासँग मनाएको जिल्ला शिक्षा कार्यालयले विस्थापित बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ । घरबार गुमाएका कारण सो शिविरमा बस्दै आएका एक सय भन्दा बढी बालबालिकाहरु शैक्षिक सामाग्री पाएपछि दङ्ग परेका छन् । आफूहरु अब नियमित रुपमा विद्यालय जान तयार भएको बताउँदै उनीहरुले बारम्बार हुने विद्यालय बन्द रोक्न समेत आग्रह गरे । यस्तै आर्थिक अभाव हुँदा विद्यालय जान नपाएका कतिपय बाढीपीडित बालबालिकाहरुले समेत अब आफूहरु पनि विद्यालय जाने घोषणा गरेका छन् । शिविरमा नै शिक्षा दिवस मनाउन आएका शिक्षाका अधिकारीहरुतर्फ लक्षित गर्दै बाढीपीडित बालिका निर्मला रावतले भनिन्,‘सरकार ! हामी त स्कुल जान तयार छौं, अब तपाईहरुले पनि सँधै भइरहने स्कुल बन्दलाई रोकि दिनुप¥यो । आज तपाईहरुबाट हामीले कापी र कलम त पायौं, तर यसको सदुपयोग गर्नका लागि स्कुल पनि बन्द नहोस् ।’ उनले शैक्षिक सामाग्री पाएकोमा निकै खुशी समेत व्यक्त गरिन् । 

यस्तै कक्षा ६ मा पढ्दै गरेका विमल बुढाले सरकारले पहिलो पटक आफूहरुलाई शैक्षिक सामाग्री दिएको भन्दै सहयोगलाई निरन्तरता दिन आग्रह गरे । अघिल्लो वर्ष पहिरोले गाउँको घरखेत बगाएपछि त्रिपालमा बस्नु परेको र त्यसले आफ्नो पढाईमा समेत बाधा पुगेको उनको दुखेसो छ । उनले भने,‘आज बल्ल सरकारका मान्छेहरु आएर कापी र कलम दिए, अहिले पनि हामीलाई खानाको समस्या छ । स्कुल पनि नजिक छैन, अब त स्कुलमा बन्द र हडताल नगरी दिए हुन्थ्यो ।’ बारम्बार भइरहने बन्द र हडतालले आफूहरु स्कुल जान नपाएको भन्दै उनले शिविरमा पुगेका क्षेत्रीय शिक्षा निर्देशक उपाध्याय र जिल्ला शिक्षा अधिकारी हमालसँग विद्यालयमा हुने बन्द र हड्ताल अत्य गर्न आग्रह गरे ।
 शिविरमा बस्दै आएका बालबालिकाहरुले सरकारी टोलीलाई शिक्षा दिवसमा मात्र नभएर अन्य बेलामा पनि आउन समेत आग्रह गरेका छन् । साथै विस्थापित बालबालिकाहरुले सरकारले घर र जग्गा नदिएका कारण आफूहरु जंगलमा बस्नु परेको र यसले पढाइमा नै अवरोध पुगेको गुनासो पोखेका छन् । उनीहरुले कापी र कलम मात्र नभई खाना र विद्यालय पोशाक पनि उपलब्ध गराउन समेत माग गरेका थिए । सरकारले समयमा नै पुनसर््थापना र व्यवस्थापन नगर्दा आफूहरु जंगलमा रात बिताउन बाध्य भएको बालबालिकाहरुले दुखेसो पोखे ।

सो अवसरमा क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले जस्तोसुकै विपद् र प्रकोपमा परेको भएपनि आफूहरु बालबालिकाको शिक्षाका लागि प्रतिबद्ध रहेको बताए । बाढीपीडित बालबालिकाको शिक्षाका लागि आफूहरु गम्भिर रहेको भन्दै उनले भने, ‘यो विषयमा हामी सचेत छौं, अब विस्थापित बालबालिकाको शिक्षाका लागि थप पहल गर्नेछौं ।’ यस्तै सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमालले विस्थापित बालबालिकाको सुन्दर भविस्यका लागि शिक्षा कार्यालय सचेत रहेको बताइन् । विस्थापित बालबालिकासँग शिक्षा दिवस मनाएर आफूहरुले उनीहरुप्रति सहानुभूति राखेको भन्दै उनले शिक्षा कार्यालयले विस्थापित बालबालिकाको लागि विषेश योजना ल्याउने समेत जानकारी दिइन् । साथै उनले बालबालिकाहरुको चाहना अनुसार अब विद्यालयमा कसैले पनि बन्द र हड्ताल गर्न नहुने समेत उल्लेख गरिन् । विस्थापित बालबालिकाहरुको शिक्षाका लागि आफूहरुले गैरसरकारी निकायसँग पनि समन्वय गर्ने उनको भनाइ छ ।