मोरङ र विराटनगरमा प्रहरी र बन्दकर्ताबीच झडप
मोरङ,२३ भदौ । मधेशकेन्द्रित दलहरुले आह्वान गरेको तराइ बन्दका क्रममा मोरङको विराटनगर र सप्तरीको भारदहमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । झडपका कारण विराटनगरका रानी र भठ्टी तनावग्रस्त बनेका छन् । मोर्चाका कार्यकर्ताहरुले पसल बन्द गराउदै हिडेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो । बन्दकर्ताले रानीवारीस्थित प्रहरी चेक प्वाइन्टमा तोडफोड पनि गरेका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड हवाइ फायर तथा केही सेल अश्रु ग्याँस पनि प्रहार गरेको हाम्रा सहकर्मी कुमार लुइटेलले जनाएका छन् ।
प्रदर्शनकारीहरुले अहिले बुध नगरस्थित प्रहरी चौकीमा घेराउ गरीरहेका छन् । बन्दकर्ताले स्थानीय मकालु टेलिभिजनको को ७४ प २२३९ नम्बरको मोटरसाइकलमा आगजनी पनि गरेका छन् ।
यता सप्तरीको भारदह र पोताहामा भने बन्दकर्ताले ढुंगा राख्नुका साथै रुख ढालेर अवरोध गरेको पूर्व पश्चिम राजमार्ग प्रहरीले खुलाउन खोज्दा दुइ पक्षबिच झडप भएको छ । झडपका क्रममा एक दर्जन बढि घाइते भएका छन् । झडपका क्रममा प्रहरीले दर्जनौ राउन्ड हवाइ फायर गर्नुका साथै अश्रु ग्याँस प्रहार गरेको थियो ।
बन्दकर्ताले रातीदेखि सडक अवरुद्ध गरेका कारण पूर्वबाट छुटेका सवारी साधनहरु प्रहरीको स्कर्टिङमा पनि आउन सकेनन् । बन्दकर्ताहरुले प्रहरीलाई नै लक्षित गरेर ढुंगा प्रहार गरीरहेका छन् ।
यसैबीच कैलालीको टिकापुरमा १७ दिनदेखि जारी कर्फ्यु आज बिहान ६ घण्टाका लागि खुला गरिएको छ । स्थानीय प्रशासनले बिहान ६ बजेदेखि अघि १२ बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । सअघि हिजोसम्म बिहान ५ घन्टामात्र कर्फ्यु हटाउदै आएको थियो ।
अहिले १२ बजेपछि भने कफ्र्यु फेरी जारी भएको प्रशासनलाई उद्धृत गर्दै सहकर्मी शिवराज भट्टले जनाएका छन । लगातारको कर्फ्युले जनजीवन कष्टकर बनेपछि स्थानीय प्रशासनले कफ्र्युको समय घटाउन थालेको जनाएको छ । कर्फ्यु हटेपछि बजारमा किनमेल गर्नेको भिड लागेको थियो । उता धनगढीमा आज पनि तीन घण्टा मात्रै कर्फ्यु घोषणा गरिएको छ । अहिले १२ देखि ३ बजेसम्म कर्फ्यु जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
पर्साको वीरगंजमा पनि विहान ९ देखि दिउँसो १ बजेसम्म कर्फ्यु हटाइएको छ । ९ दिनदेखि कर्फ्यु लागिरहँदा जनजीवन कष्टकर हुँदै गएकाले विस्तारै कर्फ्यु हटाउँदै लगेको जिल्ला प्रसासन कार्यालय पर्साले जनाएको छ ।