संसोधन प्रस्तावमाथीको छलफल आज पनि जारी
काठमाडौं,२३ भदौ । संविधानसभामा संविधानको परिमार्जित विधेयक २०७२ मा परेको संसोधन प्रस्तावमाथिको छलफल आज पनि जारी रहनेछ । छलफलमा भाग लिन नाम टिपाएका सभासदहरुले विधेयक मस्यौदामाथि धारणा राख्ने छन् । बैठकमा परिमार्जित विधेययकमाथि संसोधन दर्ता गराउने सभासदले संसोधन दर्ता गराउनुको औचित्य पुष्टि गरेका छन् ।
बाँकी रहेका संसोधनकर्ताले थप धारणा राखेपछि दफावार छलफल सुरु हुनेछ । आजको बैठक बिहान साँढे १० बजे बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ । दफाबार छलफलका लागि बढीमा ४ दिन लाग्ने सचिवालयको अनुमान छ ।
यसका लागि बैठक बिहानदेखि साँझसम्मै बस्ने छ । सभाध्यक्ष सुवास नेम्वाङका अनुसार दफाबार छलफल सकिएलगत्तै संविधानका धारामा मतदान सुरु हुनेछ । संविधानसभाको नियमावली र स्थापित अभ्यासअनुसार प्रत्येक संशोधन प्रस्तावमा छुट्टाछुट्टै निर्णय भएपछि मात्रै मूल विधेयकका धारामाथि मतदान हुनेछ ।
मूल विधेयक एकमुष्ट पारित गर्नका लागि संविधानसभामा तत्काल बहाल रहेको कुल सदस्य संख्याको दुई तिहाइ मत आवश्यक पर्छ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान विधेयक अघि बढाउने गृहकार्य गरेको छ ।