दफावार छलफल सुरु
काठमाडौं,२२ भदौ । संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावमा आजबाट दफावार छलफल सुरु हुँदैछ । संशोधन माथिको छलफलका लागि संविधानसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संविधानको विधेयकमा सभासद् र दलगत रुपमा पेश भएका ५६ वटा संशोधन प्रस्तावमध्ये हिजोसम्म ४ वटा प्रस्ताव फिर्ता भएका छन् । बैठकमा संशोधन प्रस्ताव राख्ने सभासदले आफ्नो संशोधनसहित विधेयकका समग्र धारामा छलफलका लागि समय पाउनेछन् ।
सभाध्यक्ष सुवास नेम्वाङले संशोधनकर्ता सदस्यलाई ७ मिनेट र छलफलमा भाग लिने सभासदलाई ५ मिनेटको समय दिने तयारी गर्नुभएको छ । संसदीय दलका नेताहरूलाई उपलब्ध गराउने विशेष समयमा एमाओवादीसहितका दलहरूले आफ्नो राजनीतिक अडान र फरक मत संविधानसभामा अन्तिम पटक रेकर्ड गराउने छन् । दफाबार छलफलका लागि बढीमा ४ दिन लाग्ने सचिवालयको अनुमान छ । यसका लागि बैठक बिहानदेखि साँझसम्मै बस्ने छ ।
सभाध्यक्ष सुवास नेम्वाङका अनुसार दफाबार छलफल सकिएलगत्तै संविधानका धारामा मतदान सुरु हुनेछ । संविधानसभाको नियमावली र स्थापित अभ्यासअनुसार प्रत्येक संशोधन प्रस्तावमा छुट्टाछुट्टै निर्णय भएपछि मात्रै मूल विधेयकका धारामाथि मतदान हुनेछ । मूल विधेयक एकमुष्ट पारित गर्नका लागि संविधानसभामा तत्काल बहाल रहेको कुल सदस्य संख्याको दुई तिहाइ मत आवश्यक पर्छ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान विधेयक अघि बढाउने गृहकार्य गरेको छ । संविधानसभाको दुई तिहाइले पारित गर्ने संविधान सभाध्यक्षबाट प्रमाणित भएपछि संविधानसभाले नै गर्ने विशेष समारोहबीच राष्ट्रपतिबाट जारी हुनेछ ।