Live Streaming

जन्मदिनमा भूकम्पपीडित बालकलाई योगेशको सहयोग

अन्नपूर्ण

काठमाडौं , २१ भदौ । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो जन्मदिनमा भूकम्पपीडित बालकलाई पढ्न सहयोग गरेका छन् ।वैसाख १२ गतेको विनाशकारी भूकम्पमा आमा गुमाएका काठमाडौं क्षेत्र नं. ६ तारकेश्वर नगरपालिका–६ का विराज अधिकारीलाई सचिव भट्टराईले पढ्नका लागि सहयोग गरेका हुन् ।

भट्टराईले आफ्नो जन्मदिनको अवसरमा सोमबार अधिकारीलाई १० हजार आर्थिक सहयोग गरे । उनले विराजको पढाइका लागि अर्को शैक्षिक सत्रदेखि छात्रवृत्तिको व्यवस्था समेत गरिदिने भएका छन् । अधिकारीकी आमा भगिरथीको गत बैसाख १२ को भूकम्पमा मृत्यु भएको थियो । विराज दिदिहरुको संरक्षणमा काभ्रेस्थलीको स्थानीय कालीदेवी मााध्यामिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत छन् ।

विराजकी जेठी दिदी निष्मा सहकारीमा काम गर्छिन् भने कान्छी दिदी विनिता कक्षा १२ मा अध्यानरत छिन् । बिराजका बुवा उनीहरुको सम्पर्कमा छैनन् । निष्माका कमाइले तीनै जनालाई धान्न गाह्रो छ । भूकम्पमा आमा गुमाएपछि बिराजको पढाइ संकटमा परेको थियो । उनलाई अर्को वर्षदेखि छात्रबृत्तिको व्यवस्था गरीदिने पनि सचिव भट्टराईले प्रतिबद्धता जनाएका छन् । जन्मदिनमा बालकलाई सहयोग गर्न पाएकोमा भट्टराईले खुसी व्याक्त गरे ।

सचिव भट्टराईले गत वर्षको जन्मदिनमा आमाबुवाको नाममा ट्रष्ट स्थापना गरेर पढ्न बञ्चित बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका थिए । उनले दाजु मातृकासँग मिलेर आमा महेन्द्रदेवी र बुुबा भीमलालको नाममा ट्रष्ट स्थापना गरेका हुन् । भट्टराई २०२३ सालमा ताप्लेजुङको साँघुमा जन्मिएका हुन् । उनका बुवा साँघुका शिक्षासेवी थिए । उनका बुवाले ताप्लेजुङका धेरै स्थानमा विद्यालय स्थापना गर्न सहयोग गरेका थिए । तर, उनी २ वर्षका हुँदा बुवाको मृत्यु भएको थियो ।