वीरगञ्जमा फेरि कर्फ्यु सुरु
पर्सा,२१ भदौ । पर्साको वीरगन्जमा स्थानीय प्रशासनले आज बिहान २ घन्टाका लागि हटाएको कर्फ्यु फेरि जारी भएको छ । बिहान १० बजेदेखि हटाइएको कर्फ्यु २ घन्टापछि मध्यान्हबाट फेरि लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनु भयो ।
कर्फ्यु हटेसँगै बिहान विरगञ्जका पसल तथा बजारहरु खुल्ला भएका थिए भने मानिसहरुको चहलपहल पनि बढेको थियो । मधेश केन्द्रित दलहरुले अह्वान गरेको अनिश्चितकालिन बन्दका क्रममा विरगञ्जमा मात्र ४ जनाको मृत्यु हुनेगरी भएको घटनापछि त्यहा निरन्तरजसो कफर््यु जारी छ ।
यस्तै बन्दकर्ताले रुपन्देहीको भैरहवामा नाकाबन्दी गरेर दैनिक उपभोग्य बस्तुको आपूर्ति ठप्प पारेका छन् । आन्दोलनकारीको आग्रहमा मर्चवार, लुम्बिनी लगायत क्षेत्रका किसानहरुले दूध, तरकारी लगायतका सामाग्रीहरुको बिक्री वितरण ठप्प पारेका छन् । आन्दोलनकारीले भैरहवा नगर क्षेत्रका बिभिन्न ठाउँमा छेकबार लगाएर आवत जावत बन्द गराएका छन् ।
रुपन्देही प्रशासनले जिल्ला सदरमुकाम भैरहवा नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको विरोधमा उनीहरुले आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका हुन् । सरकारले आफूहरुका माग गम्भिरतापूर्वक नलिएको कारण दैनिक उपभोग्य बस्तु भैरहवामा नलैजान बाध्य भएको संयुक्त मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवको भनाइ छ ।