एकीकृत माओवादीको पहलकदमी
काठमाडौं,२१ भदौ । एकीकृत माओवादीले आन्दोलनरत थारु समुदायको माग सम्बोधनका लागि संविधान विधेयकमा परेका संसोधन पारित गराउन कंग्रेस एमालेसंग छलफल अघि बढाएको छ । त्यस्तै मधेशी दलहरुसंग पनि अझै वार्ता गरि संविधान जारी भएपछि संघीय आयोगमार्फत उनिहरुका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउने पक्षमा ठूला २ दललाई मनाउने प्रयास सो पाटीले गर्ने भएको छ ।
एकीकृत माओवादीको आज सिंहदरवारमा बसेको संसदीय बोर्डको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नवलपरासीदेखी कञ्चनपुरसम्मको भूभागलाई थरुहट प्रदेश बनाउनुपर्ने भनि संविधान विधेयकमा थारु सभाषद्हरुले हालेको संसोधन प्रस्ताव पारित गराउन आफूले पहल गर्ने जानकारी गराउनुभएको हो । अध्यक्ष दाहालले त्यसबारे प्रधानमन्त्री सुशील कोइरालासहित कंग्रेस नेताहरुसंग अहिले बालुवाटारमा छलफल गरिरहनुभएको छ । संविधान विधेयक र त्यसमा परेका संसोधन प्रस्तावमा संविधानसभामा भोली दफावार छलफल शुरु हुनुअघि नै सहमति खोज्ने प्रयासमा जुटेका दाहालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गसंग आज विहान नेम्वाङ्गकै निवासमा गएर छलफल गर्नुभएको थियो । उहाँले एमाले नेताहरुसंग पनि आजै छलफल गर्नुहुने बताइएको छ ।
एमाओवादी संसदीय बोर्डको बैठकमा अध्यक्ष दाहालले संविधानसभाबाटै चाडै संविधान जारी गर्नेमा कुनै दुइमत नरहेको तर अझै पनि असन्तुष्ट दल र समूहका भावना समेट्ने प्रयत्न गरिने बताउनुभएको सचेतक रेखा शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार, समस्याको समाधान खोज्दा अर्को समस्या थपिने गरी नगर्न बैठकका सहभागीले नेतृत्वलाई सुझाव दिएका थिए ।
यसैबिच, भारतीय राजदुत रणजीत रे ले आज प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष दाहालसंग आज विहान छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । ती भेटमा राजदुत रे ले मधेशबाट प्रतिनिधित्व गर्ने सबै दल संविधान निर्माण प्रक्रियाबाट अलग भएकोबारे चासो राख्नुभएको थियो । दाहालले संविधान संसोधनमार्फत उनिहरुका माग सम्वोधन गर्ने प्रयास भइरहेको जानकारी राजदुत रे लाई गराउनुभएको एमाओवादी स्रोतले बताएको छ ।