विश्वकै होचा व्यक्ति डाँगीको शव ल्याउन जटिल
गजेन्द्र बोहरा
तुलसीपुर,, २१ भदौ । गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखिएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको शव अमेरिकाबाट नेपाल ल्याउन समस्या भएको छ । कानुनी झमेला र कूटनीतिक पहल नहुँदा शव ल्याउन अप्ठ्यारो भएको हो । उनको शव अमेरिकाको आइल्यान्ड सामुआस्थित अस्पतालमा राखिएको छ ।
चन्द्रबहादुर बिरामी भएर अस्पताल भर्ना भएपछि अहिलेसम्मको खर्च २१ लाख रुपैयाँ (करिब २० हजार डलर) पुगिसकेको छ । तर उक्त रकम कसले र कसरी तिर्ने भन्नेबारे अन्योल छ ।
डाँगीको सहयोगीका रूपमा त्यहाँ गएका भतिजा दोलखबहादुर डाँगीसँग त्यत्रो रकम छैन । उनलाई अनुबन्धित गरेर त्यहाँ लगेको म्याजिक सर्कस अफ सामुआसँग पनि डाँगीको कुनै सम्झौता छैन ।
पाँच महिनाअघि उक्त सर्कसमा काम गर्नका लागि डाँगीसँग मौखिक सम्झौता मात्रै भएको थियो । त्यसबेला सर्कसले डाँगीलाई आउने–जाने टिकट दिने, खानबस्न सुविधा दिने र प्रत्येक प्रदर्शनका लागि निश्चित रकम दिने मौखिक सहमति गरेको दोलखले फोन सम्पर्कमा बताए । नेपालबाट त्यहाँ जाँदा उक्त सर्कसले एक हजार डलरमात्रै पठाइदिएको थियो ।
शव ल्याउनका लागि अर्को जटिलता कानुनी प्रक्रिया पनि हो । दोलखसँग कुनै पनि देशको भिसा छैन । डाँगीलाई उक्त सर्कसले गैरकानुनी बाटोबाट लगेको थियो । तर अमेरिकाको त्यो सामुआ टापुमा पनि एक महिनाका लागि नेपालीलाई भिसा लाग्दैन । उनीहरूको नाता प्रमाणित पनि थिएन ।
पश्चिमी सामुआमा युनेस्कोका लागि कार्यरत नेपाली योगेन्द्र क्षेत्री र उनको उपचारमा संलग्न डा. लब चौरासियाको सहयोगमा शुक्रबार नोटरी पब्लिकबाट उनको नाता प्रमाणित भएको छ । उनका लागि भिसा आवेदन गर्ने, शव ल्याउन अन्य कानुनी प्रक्रिया मिलाउन अझै बाँकी छ ।
क्षेत्री युनेस्कोमा कार्यरत फाइनान्सियल स्पेसलिस्ट हुन् । उनी पनि केही समय चन्द्रबहादुरसँगै बसेका थिए । अहिले उनी र डा. चौरासियाकै पहलमा सबै प्रक्रिया अघि बढेको छ । तर कूटनीतिक रूपमा पहल नहुँदा अझ बढी समस्या भएको क्षेत्रीले बताए ।
‘नेपाल सरकारले पनि ध्यान दिएको छैन, उनी नेपालकै सम्पत्ति हुन्, बाँच्दासम्म नेपालको गौरव भन्ने मरेपछि मतलब नगर्ने, यो त राम्रो भएन,’ उनले फोन सम्पर्कमा अन्नपूर्णसँग भने, ‘नेपाल सरकारले तत्काल उनको शव लैजान पहल गरोस् ।’
अस्पताललाई तिर्नुपर्ने २० हजार डलरको जोहो भयो र कागजपत्र मिल्यो भने अस्पतालले आउँदो बुधबार चन्द्रबहादुरको शव दिनेछ । त्यसपछि प्रक्रिया सरासर अघि बढेमा र भिसा पनि समयमै पाइयो भने चन्द्रबहादुरको शव नेपाल ल्याउन कम्तीमा २० दिनजति लाग्नेछ । ‘त्यो बेलासम्म कसरी शव जोगाउने भन्ने चिन्ता पनि छ,’ क्षेत्रीले भने, ‘मैले र डा. चौरासियाले जतिसक्दो चाँडो काम गरिरहेका छौं ।’
उनका अनुसार त्यहाँबाट अष्ट्रेलियाको भिसा माग गरेर त्यहींबाट चन्द्रबहादुरको शव नेपाल पठाउने योजना छ । ‘त्यसका लागि मैले अष्ट्रेलियन हाइकमिसनको कन्सुलरसँग पनि कुराकानी गरिरहेको छु,’ उनले भने, ‘तर यहाँको कानुनी जटिलता हुन्छन्, समय त लाग्छ नै । त्यसका लागि सरकारीस्तरबाटै पहल भएमा राम्रो हुन्छ । भिसा प्रक्रिया कम्तीमा दुईदेखि ६ सातासम्म लामो हुनसक्छ ।’
‘प्रवेशाज्ञा नभई नेपाल लैजाउने सजिलो बाटो फिजी हुँदै दक्षिण कोरियाबाट हो तर कोरियन एयरले शव बोक्दैन । त्यसैले अब उनको शव पश्चिमी सामुआ लगेर त्यहींबाट कूटनीतिक पहल गरेर अष्ट्रेलिया हुँदै नेपाल पठाउनुपर्छ,’ उनले भने । उक्त सर्कसमा काम गर्नका लागि चन्द्रबहादुर पहिलो ६ महिनाका लागि अनुबन्धित थिए । क्षेत्रीका अनुसार उनले यही भदौ अन्तिममा नेपाल फर्किने योजना बनाएका थिए ।
त्यसका लागि डाँगी उक्त सर्कसमा काम गर्न प्यासिफिक आइल्यान्डभरि सँगै हुनुपर्ने थियो । तर अन्तिममा उनी बिरामी परे । त्यसपछि सामुआको एलबिजे अस्पतालमा भर्ना गरिएका उनको स्थानीय समयअनुसार बिहीबार साँझ साढे ६ बजे निधन भयो ।
संसारकै होचो मानिस (१.९ फिट, ५४.६ सेमी) को रूपमा गिनिज वल्र्ड रेकर्डमा तीन वर्षअघि नाम लेखाएका उनी ७६ वर्षका थिए । डाँगी दाङ पुरन्धारा गाविस–९ रिमखोलीका निवासी हुन् ।