Live Streaming

सिन्धुपाल्चोकको हैबुङमा भालु र बँदेलको आतङ्क

मेलम्ची, २१ भदौ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जङ्गली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतङ्कित भएका छन् । भालु र बँदेललगायतका जङ्गली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हँुदा स्थानीय त्रसित भएका हुन् । 

भालुको आक्रमणबाट हैबुङ गाविस९ मा यो साता एक व्यक्ति घाइतेसमेत भएको स्थानीय टङ्कबहादुर थिङले बताउनुभयो । भालु, बँदेलले मकैबाली सखाप पार्दा किसान चिन्तित भएका छन् । थिङका अनुसार हरेक दिन जङ्गली जनावर मकै बालीमा पस्दा किसानलाई साह्रै समस्यामा पारेको छ । भालु र बँदेलले गाउँका किसानले लगाएको बाली नोक्सान ग हैबुङ गाविस८ स्थित बोक्राङवासीलाई तीन महिनासम्म खान नपुग्ने अवस्था आएको उहाँले बताउनुभयो । 

जङ्गली जनावरले आक्रमण गर्ने हुँदा अहिले बसोबास गरिरहेका टहरा असुरक्षित रहेको स्थानीय बताउँछन् । भालुले मान्छेलाई आक्रमण गर्न थालेकाले ज्यान जोगाउन मुस्किल भएको टङ्कबहादुर बताउनुहुन्छ । मकैबारीमा जङ्गली जनावर पस्ने भएकाले हैबुङवासी आजभोलि रातभर जाग्राम बस्नुपरेको छ । गाउँमा जङ्गली जनावर आएपछि भागदौड चल्ने गरेको छ । 


जङ्गली जनावरलाई मार्न नपाइने कानुन हुँदा गाउँवासी समस्यामा परेका छन् । त्यत्तिकै छोड्दा ज्यान जोगाउन मुस्किल पर्ने र मार्दा कानुन लाग्ने भएकाले समस्या भएको हैबुङवासीको गुनासो रहेको छ । गाउँमा भएको समस्या समाधानका लागि राज्यले चासो देखाउनुपर्ने उनीहरुको भनाइ छ । रासस