डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं,२१ भदौ । नेपाल आयल निगमको निर्णयअनुसार गएरातीदेखि डिजेल र मट्टितेलको बिक्री मूल्य घटेको छ । निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक–एक रूपैयाँ घटाइएको हो ।
यसअघि गत मंगलबार मूल्य समायोज गर्दा निगमले डिजेल र मट्टितेलको मूल्य ८२ रुपैयाँ तोकेको थियो । सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाउन समस्या भएपछि डिजेलको मूल्य घटाउन निगमलाई दबाव दिएको थियो ।
डिजेलमा ५ रुपैयाँको अन्तरमा मूल्य नघट्दा सार्वजनिक यातायातको साधानमा भाडा घटाउन नसक्ने भएपछि यातायात व्यवस्था विभागले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो । आजदेखि डिजेल र मट्टितेलको मूल्य ८१ रूपैयाँ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ ।