Live Streaming

​तराई सुनसान

काठमाडौं,२१ भदौ । प्रदेशको सिमांकनको विरोधमा मधेश केन्द्रित दलहरुले अह्वान गरेको बन्दका कारण तराइका जिल्लाका मुख्य मुख्य सहरहरु आज पनि बिहानैदेखि सुनसान छन्  । यातायातका साधनहरु सञ्चालनमा आएका छ्रैनन् ।

हिजो र अस्ती भने कृष्ण जन्माष्टमीको अवसरमा बन्द खुकुलो पारेपछि बजारहरु खुलेका थिए भने मानिसहरुको चहलपहल पनि तुलनात्मक रुपमा बढेको थियो । २६ दिनदेखि लगातारको बन्दले तराइका जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ भने यसमा राज्यले कुनै चासो नै नदेखाएको स्थानियको गुनासो छ । पर्साको विरगञ्जमा भने अनिश्चितकालिन कर्फ्यु आज पनि जारी रहेको छ ।

४ जनाको मृत्यु हुनेगरी भएको घटनापछि लागेको कर्फ्यु केहिदिन अघि खुकुलो बनाइएको भएपनि अस्ति शनिबारदेखि प्रशासनले फेरि अनिश्चितकालिन कर्फ्यु लगाएको हो । 
उता कैलालीमा भने शैक्षिक संस्थाहरु आज पनि सञ्चालनमा आएका छन् । टिकापुरमा भएको हिंसात्मक घटनापछि निरन्तर कर्फ्यु लागेका टिकापुर, धनगढी लगायतका स्थानमा पनि कर्फ्यु हटेको समयमा सञ्चालन हुनेगरी हिजोबाट विद्यालय तथा क्याम्पसहरुमा पठनपाठन सुरु भएको हो ।