विराटनगरमा बन्द खुकुलो
विराटनगर, २० भदौं । कृष्ण जन्माष्टमीको अवसर पारेकोले विराटनगरमा आइतबारको बन्द खुकुलो पारिएको छ । ऐतिहासिक रुपमा निस्कने रथयात्रालाई असर नपुगोस भनेर बन्द खुकुलो बनाइएको संयुक्त मधेशी मोर्चाले जनाएको छ । मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका मोरङ अध्यक्ष मोहम्मद कादिरले पर्वलाई असर नपुगोस भनेर बन्द खुकुलो बनाइएको जानकारी दिनुभयो ।
बन्द खुकुलो भएपछि आइतबार बिहानैदेखि विराटनगर बजार खुलेको छ । बजारमा किनमेल गर्ने मानिसको चहलपहल देखिएको छ । छब्बीस दिनदेखिको बन्दले उपभोग्य सरसामानको जोहो गर्नसमेत नगरवासीलाई हम्मेहम्मे भएको थियो । यहाँका शैक्षिक संस्था, उद्योग खुलेका छैनन भने सार्वजनिक यातायात चलेका छैनन् ।