भाइरसबाट तीन बालबालिकाको मृत्यु
छेटु शेर्पा
संखुवासभा,२० भदौ । हन्टा भाइरसबाट संखुवासभाका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुपु गाविस–५ की ८ वर्षीया कल्पना सुवेदी, पावाखोलाका वर्ष १३ वर्षीय दीपक राई र नुमका चार वर्षीय एक बालक छन ।
ज्वरो आएर टाउको दुख्न थालेपछि खाँदबारी अस्पतालमा भर्ना भएका कल्पना र दीपकलाई खाँदबारी अस्पतालले थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेपछि पत्ता लागेको हो ।
खाँदबारी अस्पतालमा निको नभएपछि रिफर गरिएका उनीहरुमा बिपी कोइराला बिज्ञान प्रष्ठिानले रोगको लक्षण र प्रकृति हेर्दा हन्टा भाइरस भएको जानकारी खाँदबारी अस्पताललाई दिएको छ । (के हो हन्टा भाइरस, यो कसरी सर्छ ?)
जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख डाक्टर मदनकुमार उपाध्यय मुसाको दिसापिसाव र जुठो खाएमा तथा मुसो खेलाएर सरसफाइ नगरेमा यो रोग सर्ने बताए । शुरुमा ज्वारो आउने, टाउको दुख्ने, मृगौला, मुटु र फोक्सो सुन्निएर पुुरै शरीर सुन्निने लक्षण देखा पर्ने उनले बताए । बिपी प्रतिष्ठानले रोगको लक्षण अनुसार हन्टाभाइरस भएको जनाएको छ ।
बिपीले यो भाइरसबाट पाँच जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाएको छ । प्रतिष्ठानका अनुसार रोगीहरु संखुवासभा र भोजपुरका बढी रहेका छन् । एक साताअगाडी धुपु गाविस–५ की ८ वर्षीया कल्पना सुवेदीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकहरुले हन्टा भाइरसको अनुमान गरेका थिए ।
‘संक्रमणको लक्षणका आधारमा रोग अनुमान गरिएको हो’, उपाध्यायले भने, ‘यो भाइरस कन्फर्म गर्न नेपालमा प्रविधि नभएकाले बैंकक पठाएर ल्याव परीक्षणनै गर्नुपर्ने बाध्यता छ ।’
यो भाइरस मुसाबाट सर्ने भएकाले तत्काल सतर्क रहन अनुरोध गरिएको उनले बताए । प्रत्येक स्वास्थ्य संस्थाका कर्मचारीलाई पत्रचार गरी जानकारी गराइसकेको प्रमुख उपाध्यायको भनाइ छ ।
यो भाइरस मान्छेबाट मान्छेमा नसर्ने भएकाले सरसफाइका लागि जनचेतनामुलक कार्यक्रम तीब्र पारिए रोग नियन्त्रणमा आउने उनले बताए ।हन्टा भाइरस सर्वप्रथम सन् १९७० को दशकमा कोरियामा पहिलो पटक देखा परेको थियो । यो भाइरस नेपालमा भने पहिलो प टक देखा परेको हो । विरामीको मृत्यु भएपछि रोग नियन्त्रण महाशाखाले गरेको परीक्षणबाट उक्त रोग पत्ता लागेको हो ।
यो रोगको लक्षण एकदेखि पाँच हप्ताभित्र देखा पर्ने चिकित्सकहरु बताउँछन् । हन्टा भाइरलबाटै सिकिस्त संखुवासभा दिदिङ–७ की ८ वर्षीया सञ्जु राई, भोजपुरको कुलुङकी ११ वर्षीया भावना राई र तिवारी भज्याङकी आठ वर्षीया नमुना पाण्डेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन्