२६ दिनदेखि बन्द रहेका कैलालीका विद्यालयमा पठनपाठन सुरु
धनगढी,२०भदौ । दिनदेखि निरन्तर बन्द रहेको कैलालीका विद्यालय तथा क्याम्पसहरु आजबाट सञ्चालनमा आएका छन् । आन्दोलनरत पक्ष, प्रशासन तथा जिल्ला शिक्षा कार्यालयबिच गएराती भएको सहमती अनुसार आजबाट जिल्लाका शैक्षिक संस्थाहरु सञ्चालनमा आएका हुन् ।
जिल्लाका कर्फ्यु लागेका स्थानमा भने कर्फ्यु नलाग्ने समयभित्र पठनपाठन सक्नुपर्ने गरी सहमती भएको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र कफ्र्रयु हटाइएको टिकापुरसहित २ नगरपालिका र १० गाविसमा भने कसरी विद्यालय सञ्चालन गर्ने भन्ने बिषयमा निर्णय नभइसकेको प्रशासनले जनाएको छ । धनगढीमा भने मध्यान्न १२ बजे कर्फ्यु जारी हुनु अगावै विद्यालय तथा क्याम्पसहरु खुलाइनेछन् । धनगढीमा मध्यान्न १२ देखि अपरान्ह ३ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
यता पर्साको विरगञ्जमा भने हिजोदेखि फेरि सुरु गरिएको कर्फ्यु आदेश आज पनि जारी छ । यसअघि केहि खुकुलो बनाईको कर्फ्यु मधेशकेन्द्रित दलहरुको आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले फेरि हिजो दिउसो २ बजेदेखि अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो । हिजो पनि आन्दोलनकारीहरुले विरगञ्जमा प्रहरी चौकीमा आगजनी गरेका थिए ।
यसैबिच प्रमुख दलहरुले बाग्लुङलाई अखण्ड बनाउने निर्णय गरेपछि बाग्लुङमा जारी आन्दोलन स्थगित भएको छ । अखण्ड बाग्लुङको माग गर्दै जिल्लाबासीहरुले आन्दोलन गर्दै आएका थिए ।