Live Streaming

साँखु बजारमा चोरी बढ्यो, प्रहरी हैरान

साँखु, १८ भदौ । गतहप्ता साँखुका विभिन्न ठाउँमा चोरी भएको खबर प्राप्त भएको छ । यसले महानगरीय प्रहरी प्रभाग, साँखुका सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ । गत भदौ १० गते राति साँखु साल्खाटोलको विनोद श्रेष्ठको पसल फोरेर सूर्य चुरोट १५ पेटीलगायत चार बाकस चुरोट चोरी भएको छ । उक्त चोरीमा करिब रु एक लाख हाराहारीको नोक्सान रहेको विनोद श्रेष्ठको दाबी रहेको छ । 

त्यसैगरी, सोही राति साँखु धुँलाटोलको हाकुज रेष्टुराँबाट ३२ इन्चको एलइडीको साथै एक बोटल भोड्का चोरी भएको छ । उक्त चोरीमा करिब ४० हजारको क्षति भएको भनाइ हाकुज रेष्टुरेन्टको रहेको छ । साथै, सोही राति साल्खाटोलकै योगेन्द्र बसीको पसलको ताल्चासमेत फोरिएको छ । तर त्यहाँ कुनै पनि प्रकारको चोरी भएको खबर आएन । 

त्यसपछि, गत सोमबार राति प्रहरी प्रभागबाट करिब ५० मिटरको हाराहारीमा रहेको शङ्खरापुर नगरपालिकाबाट ताला फोरेर दुई थान कम्प्युटर सेट चोरी भयो । त्यसैगरी, गत बिहीबार रातिसमेत साँखु बजारभन्दा अलि अगाडि रहेको साँखु इलाका स्वास्थ्य कार्यालयसँगै रहेको प्रकाश स्याङ्बो (आशा) को घरमा रहेको रेष्टुराँको टिभीलगायतका सामग्री चोरिएको छ । 

यसपछि, प्रहरी टोलीले रातभर विभिन्न ठाउँमा खोजी कार्य गरे तापनि चोर समात्न सकिएन । यसले गर्दा महानगरीय प्रहरी प्रभागका सुरक्षाकर्मीहरु हैरान भएका छन् । सर्वसाधारणको गुनासो र माथिल्लो निकायको खप्की खानुपर्दा सुरक्षाकर्मीलाई हैरानी भएको हो । 

प्रहरीले भने साँखु बजार र वरपरका लागि राति करिब ८ बजेदेखि विहान ३–४ बजेसम्म लगातार चोक–चोकमा ड्युटी गर्नुका साथै गाडीबाट गस्तीसमेत गर्दै आएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक हरि खड्काले साँखु बजारमा चोरी बढ्दै गएको हुँदा बजारमा सुत्ने घरधनीहरुले समेत राति आफू उठेका बेला बाहिरफेर एक नजर लगाउने अथवा खोक्ने आदि कार्य गरेमा चोरीबाट बच्न सकिने सुझाव सर्वसाधारणलाई दिएको छ । उहाँले चोरी रोक्न सर्वसाधारण र प्रहरी उत्तिकै जिम्मेवार रहेको समेत बताउनुभएको छ । 

यसअघि पनि पुराना भाँडाकुँडा चोर्ने कवाडी सङ्कलन गर्नेहरुलाई समेत सर्वसाधारणकै सहयोगमा पक्रिन सकेकाले प्रहरी सक्रिय रहे तापनि सर्वसाधारणसमेत चनाखो हुनुपर्ने उहाँको भनाइ रहेको छ । रासस