Live Streaming

सीमाङ्कन छोडेर संविधान घोषणा गरौं : गगन थापा

चाहेर पनि नेपालमा जातीय राज्य बन्दैन

रामेछाप,१८ भदौ । कांग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनलाई थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमाङ्कनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमाङ्कनका लागि आयोग बनाउनुपर्ने प्रस्ताव गरे ।

कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमाङ्कन टुङ्ग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । अर्को प्रसङ्गमा उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।

नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए । कार्यक्रममा बोल्दै कांग्रेस रामेछापका सभापति रामचन्द्र खड्काले अबको अभियान गरिबी, पछौटेपन र अशिक्षाको विरुद्ध हुनुपर्ने बताए 

यसैगरी, गगन थापाकै समन्वयमा निर्माण गरिएको बेथानको कुशेश्वर उच्च माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको साँचोसमेत सोही अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रासस