Live Streaming

अल विदा खेलकुदाका अर्जुन

शिवराज भट्ट

धनगढी, १७ भदौ । सुदूरपश्‍चिमको क्रिकेट विकासका योद्धा अर्जुन खड्काको बुधबार निधन भएको छ। धनगढी नगरपालिका-१ पार्कमोड निवासी खड्काको ४५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए। खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए।

 एकताका विश्व क्रिकेट जगत्का मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेटजगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै इहलीला समाप्त गरे। 

 मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए।१५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १६ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले। 

 नेपाली भएकाले उनले क्षमता भएर पनि अवसर पाउन मुस्किल भयो। उनले सोचे-अरूको देशमा केही हुँदैन, अनि केही नसोचेर हानिए नेपाल तर उनले सोचेजस्तो थिएन नेपालको क्रिकेट। न लोकप्रिय थियो न त कोही खेल्थे नै। उनी भारतमै जन्मिएका थिए। भारतमा सरकारी बैंकको बुवाको जागिरले राम्रै चलेको थियो, खड्काको परिवार। तर क्रिकेट नशाले परिवार छोडेर नेपाल फर्किएका थिए उनी।

 उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गति लियो। मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि। प्रेम चौधरीदेखि भुवन कार्की, विनोद लामालगायत यू-१९ का कप्तान राजु रिजाल, सुनील धमला, सन्तोष भट्ट, सुरेन्द्र चन्द र प्रदीप ऐरी उनकै उत्पादन हुन्। 

 यू-१६ का रोशन अधिकारीलाई पनि उनले क्रिकेट सिकाएका थिए। खड्का दाइले आफूलाई स्कुलबाट ल्याएर क्रिकेट सिकाउने गरेको खेलाडी भुवन कार्की सम्झन्छन्। 'प्रतिभा छ, देशका लागि खेल्नसक्छ भनेर नै उहाँले मलाई क्रिकेट खेल भनेर कर गर्नुभएको थियो। आज निकै निराश भएको छु, उहाँले संसार छोडेको खबरले', भुवनले भने।

 जीवनको उत्तराद्र्धमा खड्का खेलाडीहरूलाई क्रिकेट सिकाउन व्यस्त रहन्थे। लगातार १२ वर्षदेखि त्यही कभर्ड हलसँग उनको मितेरी थियो। पछिल्ला केही वर्षदेखि भने उनी धनगढी क्रिकेट एकेडेमीमा आबद्ध भएर कलिला क्रिकेटर उत्पादनमा व्यस्त रहँदै आएका थिए। 

 एक दशकभन्दा बढी समयदेखि धनगढीको रंगशालामा खेलाडीलाई प्रशिक्षण दिएका उनले एक पैसा पनि लिएनन्। बरु आफैं खर्च जुटाएर खेल खेलाउने र भ्रमण लैजाने काम गरे। खड्काको निधनले सुदूरपश्चिम क्षेत्रको क्रिकेटमा ठूलो क्षति पुगेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए।