Live Streaming

ओली प्रचण्ड भेटवार्ता

काठमाडौं,१६ भदौ । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मधेश केन्द्रीत दलका मागसमेत सम्वोधन गरी सहमतिबाट संविधान संसोधन गर्नेबारे आज विहान छलफल भएको छ । बबरमहलस्थित एक घरमा दुई नेताबीच भेट भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

भेटवार्तामा संविधान निर्माण प्रक्रिया, मधेसमा जारी मधेसी मोर्चा र थारुहरुको आन्दोलन तथा जनजातिहरुको आन्दोलनलाई सम्बोधन गर्ने विषयमा लामो छलफल भएको थियो । आन्दोलनमा उत्रेका दल र समुदायका जायज मागलाई सम्बोधन गरी भदौभित्रै नयाँ संविधान ल्याउनेमा केन्द्रीत हुने दुई नेताबीच समझदारी भएको ती पार्टीका नेताहरुले बताएका छन् ।

आन्दोलनको निकासबारे तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग हिजो छलफल गरेका दाहालले त्यसपछि हिजैसाँझ प्रधानमन्त्री सुशील कोइराला र आज एमाले अध्यक्ष ओलीसंँग परामर्श गर्नुभएको हो ।

चाडै नयाँ संविधान जारी गर्न नयाँ सहमति खोज्ने पहलमा प्रमुख दलका नेताहरु जुटेका छन् । आन्दोलनका लागि जिल्लामा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष ठाकुर हिजो काठमाण्डौ फर्किएपछि उहाँहरुसंग चाडै वार्ता गर्ने वातावरण बनाउन एकीकृत माओवादीका अध्यक्ष दाहालसक्रिय हुनुभएको हो । ठाकुरसंग प्रधानमन्त्री कोइरालाले हिजो राती टेलिफोन वार्ता गर्नुभएको थियो ।